पुष्प मेलामा अवलोकनकर्ताको गुनासो : विदेशी फूल धेरै देखिए

ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातीत फूललाई बढी प्राथमिकता दिई प्रदर्शनीमा राखिएको अवलोकनकर्ताहरूले गुनासो गरेका छन् ।

कात्तिक ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएका फूलहरू बढी प्रदर्शनीमा राखिएको अवलोकनकर्ताहरूले गुनासो गरेका हुन् । अवलोकनकर्ताहरूका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाए पनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशतभन्दा धेरै फूलको मूल्य महँगो छ ।

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुगेका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भए पनि नेपालमै उत्पादन भएका फूलहरूभन्दा विदेशबाट आयात गरिएका फूलहरू मेलामा धेरै भेटिएको बताए । उनले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए ।

त्यस्तै अर्का अवलोकनकर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरूको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए । उनले मेलामा विदेशबाट आयात गरिएका महँगा फूलहरू पनि राखिएको बताए ।

त्यस्तै अवलोकनकर्ता पुष्पा सिंहले विगतको तुलनामा यस वर्ष २५÷३० प्रतिशतभन्दा बढी फूलहरूको बजार महँगो रहेको बताइन् । उनले गत वर्ष ५ सय रुपैयाँमा पाइने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताइन् ।

व्यवसायीहरू भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछिन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताँछिन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

त्यस्तै अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा भन्दा पनि मूल्यमा धेरै प्रतिस्पर्धा भइरहेको गुनासो गर्छन् ।

त्यस्तै अर्का व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउँछन् । मेलाहरूले ग्राहकहरूलाई पनि एकै ठाउँमा रोजीरोजी फूल किन्न पाउने अवसर प्रदान गरेको बताए ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फान)ले यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको पाँच दिनमा करिब २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ ।

नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आइतबार सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर