वरिष्ठ हवल्दार लोक्ताम र सहायक हवल्दार श्रेष्ठ बने प्रदेश १ को सर्वोत्कृष्ट प्रहरी

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर, काठमाडौं गण मुख्यालय दरबन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार रवीन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरबन्दी भई प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राजकुमार श्रेष्ठ असोज महिनाको प्रदेश १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको र उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले लोक्ताम र श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

उनीहरू ताप्लेजुङ र इलाममा भएका हत्या घटनाका फरार प्रतिवादीहरूलाई हत्यामा प्रयोग भएका धारिलो हतियारसहित पक्राउ गर्नुका साथै आइएमईबाट नगद तथा सुन डाँका गरी फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका थिए।

आफ्नो काममार्फत आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुनेगरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य वरिष्ठ हवल्दार लोक्ताम र  सहायक हवल्दार श्रेष्ठले गरेकाे र उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर