कतार विश्वकप-२०२२ को एक महिने ‘काउनडाउन’ सुरु

कतार विश्वकप फुटबल–२०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरु भएको अवसरमा कतारी राजदूतावास काठमाडौंले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

काउनडाउन सुरु भएको उपलक्ष्यमा आयोजित कार्यकममा लक्की ड्रमार्फत फुटबल विजेता चयन गरिएको थियो । फुटबल विजेताहरूमा रमेश व्यञ्जनकार, प्रियङ्का भण्डारी, प्रकाशबाबु थापा, शैलेन्द्र बज्राचार्य, काजोल झा, तुलसी श्रेष्ठ, प्रकाशमणि पौडेल, रवि राजकर्निकार र प्रज्ज्वल वली रहेका छन् ।

कार्यक्रममा नेपालका लागि कतारका राजदूत युसुफ अल हैल, नियोग उपप्रमुख खालिद इब्राहिम, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेद, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नक्वी, रिपब्लिक इजिप्टका राजदूत नोना अहमद, परराष्ट्रसचिव भरतराज पौड्यालले लक्की ड्रबाट फुटबल जित्नेहरूलाई फुटबल प्रदान गरेका थिए ।

अबको २८ दिनमा सुरु हुने विश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता भएको अल–बायत रङ्गशालामा हुनेछ । २० नोभेम्बरमा हुने पहिलो खेलमा कतार र इक्वेडर भिड्नेछन् ।

कतारले आयोजना गर्न लागेको बहुप्रतीक्षित विश्वकप फुटबल मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप–२०२२ हो ।
आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर (करिब एक महिना)सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रङ्गशाला बनाइसकेको छ । अल–बायत स्टेडियममा उद्घाटन खेल खेलाउने तय भएको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल भने कतार राज्यको राष्ट्रिय दिवस १८ डिसेम्बरका दिन लुसैल रङ्गशालामा हुनेछ । लुसैल रङ्गशाला सबैखाले सेवा सुविधासहित ८० हजार दर्शक क्षमताको छ ।

विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने एउटा रङ्गशालाबाट अर्को रङ्गशालासम्म पुग्न झण्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको छ। सबै रङ्गशाला यातायातका सबैखाले सुविधासँग जोडिएका छन् । विश्वकप फुटबल प्रतियोगिताको समयावधिमा अधिक दर्शक चाप हुने विषयलाई ध्यानमा राखेर कतारले यातायात, रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट, सामुद्रिक पोर्टलगायतका पूर्वाधारको निर्माण एवम् स्तरोन्नति गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर