एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर अर्पण शर्माले राखे दोस्रो विश्व रेकर्ड

‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड’को कार्यालयबाट लिएर नेपाल आएलगत्तै शर्माले उक्त रेकर्ड सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर उक्त विश्व कीर्तिमान कायम गरेका हुन्। उनले यसको श्रेय आफ्नो ध्यान, साधना र मेमोरी टेक्निकलाई दिएका छन्।

उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए। भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गरेको उल्लेख गर्दै शर्माले भने, ‘मैले ध्यान र साधनाबाट गर्न सकिने बताएँ, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो।’

शर्माले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *