नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आईएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आईएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर, हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९/०८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन् २०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आईएमएफको सुरुवाती अनुमान थियो । तर, अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ ।

पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस–युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ ।

आईएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन दशमलव दुई प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यस्तै २०२३ मा झन् खस्केर दुई दशमलव सात प्रतिशतमा झर्ने अनुमान गरिएको छ । जुन पछिल्लो दुई दशकयताकै सुस्त हो ।

विश्व मुद्रास्फीति दर यस वर्ष आठ दशमलव आठ प्रतिशत कायम हुने आईएमएफको अनुमान छ । सन् २०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर