राष्ट्रपति निवासमा देउसीभैलो

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा देउसीभैलो खेलिएको छ । सोमबार राष्ट्रपतिको निवास रहेको शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बीचबीचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।

कार्यक्रममा कलाकारहरूले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरू पनि प्रस्तुत गरेका थिए । बालमन्दिरका बालबालिकाहरूले नृत्य पनि प्रस्तुत गरेका थिए ।

देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रूपले हेरेकी थिइन् । प्रस्तुतिहरू सकिएलगत्तै उनले देउसे टोलीलाई नाङ्लोमा राखेर दान दिएकी थिइन् ।

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो । घरमा लक्ष्मीले बास गरून्, आगामी वर्ष पनि आउन पाऊँलगायतको आशिष थियो । आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।

अन्त्यमा भैली टोलीले राष्ट्रपति भण्डारीसँग सामूहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर