प्रहरीले यसरी मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चकको दोस्रो दिन सोमबार इमान्दारितापूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइनएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनी पनि गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले कार्यालयमा रहेका विभिन्न तालिमप्राप्त कुकुरहरूलाई पूजा गरिन् । साथै उनले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गरिन् ।

उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिएका थिए ।

कार्यक्रममा कार्यालयमा रहेका तालिमप्राप्त कुकुरहरूले बाधापार, ट्र्याकर डगको काम, रेस्क्यू डगको काम, रनिङ कम्पिटिसन, हाइजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवं पहिचान, हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान, लागुऔषध खोजी एवं पहिचान, रिमोट कन्ट्रोल कला पर्दशनी, डग आकृति बनाउने, आज्ञापालन कला प्रदर्शनीलगायतका कार्यहरू गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धानलगायतका कार्यमा तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । साथै सोही अवसरमा प्रदेशका केनाइन कार्यालयहरूमा समेत सोमबार नै कुकुर पूजा गरिएको थियो ।

कार्यक्रममा प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू एवं स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर