ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त, देशको आर्थिक अवस्था सुधार्ने प्रतिबद्धता

भारतीय मूलका ऋषि सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। राजा चार्ल्स तृतीयलाई भेटेसँगै सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बनेका हुन्।

कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किंघम दरबारमा राजासँग भेट गरेका थिए । त्यस क्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै सुनक बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । उनी भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्रीसमेत हुन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री बेनका छन्।

प्रधानमन्त्रीको रूपमा राष्ट्रको नाममा आफ्नो पहिलो सम्बोधनमा सुनकले आफ्नो सरकारले भावी पुस्तालाई ऋण नबोकाउने र पूर्ववर्ती सरकारले गरेका गल्ती सुधार्न तत्काल काम सुरु गर्ने बताएका छन्।

लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनकले प्रधानमन्त्री हुने अवसर पाएका हुन्। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हु्न्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत सरेका हुन्।

४२ वर्षीय सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै प्रधानमन्त्री बनेका हुन्।

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि सुनक प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन्।

बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका सुनक सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर