काठमाडौंका सीडीओ उपाध्याय भन्छन्, ‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।

चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रूपमा कार्यान्वयन भइरहेको बताए ।

प्रजिअ उपाध्यायले भने, “कुनै पनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।”

देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने

तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कात्तिक ४ गते सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न/खेलाउन आग्रह गरेको थियो । “देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो, नागरिकबाट माग भएबमोजिम राति १० बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरूपको सुरक्षा प्रबन्ध मिलाइएको छ”, प्रजिअ उपाध्यायले भने ।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको छ । काठमाडौं प्रशासनले दीपावली, नेपाल संवत् र छठ पर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुनेगरी प्रचलित कानूनको पालना गर्दै मनाउन सबैमा सूचनामार्फत अनुरोध गरेको छ ।

यस अवसरमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

“पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न/नगराउन सबैमा अनुरोध गरेको छ । यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ”, सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर