आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ‘ब्यारोमिटर’ : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ‘ब्यारोमिटर’को रुपमा लिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन् ।

उनले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे । उनले देशमा विकराल समस्या देखा परिरहेको बताए ।

उनले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए । उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनतामाझ जाने पनि बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनी टिप्पणी गरे ।

उनले गठबन्धनका दलहरुको उद्देश्य झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभलालच देखाएर भए पनि मत लिने मात्रै भएको बताए । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उनको भनाइ छ ।

उनले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे । उनीहरुले सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उनीहरुलाई कम्युनिष्टको दर्जा दिन नहुने बिजेक्छेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर