देशभर चिसो बढ्यो, के भन्छन् मौसमविद् ?

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए ।

उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले बताए ।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले डिसेम्बर महिनाको सुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।

उनले मनसुन सकिएर पोष्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वाभाविक भएको बताए । उनले आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको बहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ ।

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीतलहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर