पर्यटकको रोजाइमा पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो ।

फेवा तालको झल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रूपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरूको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरले समेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरू रूपन्देही, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीलगायतबाट अवलोकनको लागि पर्यटकहरू पुग्ने गरेको बताउँछन् आन्तरिक पर्यटक सागर भुसाल । उनले तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरू लोभ्याउने बताए ।

स्थानीय नगर सरकारले समेत पर्यटन प्रवर्द्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ । तीन वर्ष कोभिड–१९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउँछन् ।

तीन तहकै सरकार र पर्यटन बोर्डले समेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्ने सचिव सापकोटाको भनाइ छ । उनले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्याउन टेवा पुर्‍याउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर