बागी उम्मेदवारी दिने माओवादीका यी पाँच नेता पार्टीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । माओवादीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुनमगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज÷अध्यक्षको नाममा विशेष परिपत्र गर्दैै उनीहरूलाई कारबाही गरिएको जनाएका छन् । भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै यादवले मधेस प्रदेशअन्तर्गतको पर्सा निर्वाचन क्षेत्र नं ४ (१) र मगरले रोल्पा क्षेत्र नं १ (२) बाट पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

माओवादीले पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *