रसुवागढी नाकाबाट दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

चीन प्रशासित तिब्बतको विभिन्न स्थानमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ खाद्य सामग्रीको आयात दुई महिनासम्म हुन सकेन। कोरोनाका कारण नाका बन्द गरिएपछि भदौ र असोजमा खाद्य सामग्रीको आयात ठप्प रहन पुगेको हो। अहिले नाका सञ्चालनमा आएको भए पनि खाद्य सामग्रीको आयातले निरन्तरता पाउन सकेको छैन।

चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा ४९.३ मेट्रिक टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नाकाबाट केही महिनायता आयातमा पनि कमी आएको छ। नाकाबाट पछिल्लो समय न्यून खाद्य सामग्री आयात भएको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। उनका अनुसार गत आइतबार नाकाबाट ९८० केजी सिजनिङ पाउडर मात्र आएको छ।

चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन। कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा २ सय ७ टन र २०७८/०७९ मा ३९१.०६ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ।

कोरोनाको कारण देखाउँदै चीनले नाका बन्द गर्दा नेपाली व्यापारी भने सधैँ मारमा पर्ने गरेका छन्। नाकाबन्दीका कारण नेपाली व्यवसायी आत्महत्यासम्मको स्थितिमा पुगेको विगतका घटनाले देखाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर