माओवादी, एकीकृत समाजवादी र राप्रपाले सोमबार घोषणापत्र ल्याउँदै

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार एकैदिन चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन्।

माओवादीले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे कार्यक्रम गरेर ’प्रतिबद्धतापत्र’ सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ।

यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधि सभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गरिने बताए।

एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो।

समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ।

त्यसैगरी राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए। राप्रपाले सोमबार ११ः३० बजे काठमाडौं नयाँ बानेश्वरमा रहेको पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ।

राप्रपाले घोषणापत्रमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसदले मन्त्री हुन नपाउने, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाका रूपमा राजा, प्रदेश खारेजी, बलियो केन्द्र र सबल स्थानीय तह भएको दुई तहको संरचनाको कुरा अगाडि सारेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर