दार्चुलामा गठबन्धनले कांग्रेसका उम्मेदवार मन्त्री बडू ढुक्क

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

दार्चुलामा गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री काङ्ग्रेस नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।

दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर, सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरूको पनि समर्थन रहँदा कांग्रेसका बडूलाई चुनाव जित्न केही सहज देखिन्छ ।

२०४८ सालमा निर्वाचित भए यता बडूले पटक पटक सत्तामा बस्ने अवसर पाउँदै आएका छन् । हालसम्म पाँच वटा मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।

२०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । २०५१ सालमा एमालेका स्वर्गीय नेता प्रेमसिंह धामीसँग बडू पराजित भएका थिए ।

मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालको संविधान सभा निर्वाचनदेखि चुनाव लड्दै आएका छन् । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना माओवादी नेता लक्ष्मणदत्त जोशीसँग पराजित भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले संसद्को यात्रा सुरु गरे ।

२०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्नासँग काङ्ग्रेसका विक्रमसिंह धामीले प्रतिस्पर्धा गरे । बाम गठबन्धनका साझा उम्मेदवार ठगुन्नाले धामीलाई छ हजार ७६५ मतान्तरले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भए ।

यसअघि दुई पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा भइरहेको छ । यस पटक ठगुन्नाले चुनाव जिते उहाँको ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि दार्चुलाबाट तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्नेछन् । ७० वर्षीय बडू र ५३ वर्षीय ठगुन्नाबीच यस पटकको चुनाव रोचक हुनेछ ।

दार्चुलाबाट प्रतिनिधि सभाका लागि बडू र ठगुन्नासङगै राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दियाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, सङ्घीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवीन्द्रसिंह धामी गरी नौ जनाको उम्मेदवारी छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवार आफूले जित्ने दाबी सहित प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर