मलेसियाका श्रमसहचारी र कर्मचारी नै ‘म्यानपावरका एजेण्ट’

मलेसियाका लागि नेपाली दूतावासमा कार्यरत श्रमसल्लाहकार दीपक ढकाल र श्रमसहचारी प्रकाश पन्थीले म्यानपावर कम्पनीको ‘एजेण्ट र लगानीकर्ता’ जस्तो व्यवहार गर्ने गरेको भुक्तभोगीहरूले गुनासो गरेका छन्। उनीहरू दुवैले अन्य व्यवसायीको काम रोकेर आफू निकट कम्पनीको मार्केटिङ गर्ने गरेको आरोप छ। यसमा राजदूत मूकदर्शक बनेको उनीहरूले नाम उल्लेख नगर्ने शर्तमा पर्दाफासलाई बताए ।

दूतावास स्रोतका अनुसार श्रमसहचारी ढकाल र पन्थी पदीय जिम्मेवारी बिर्सेर नेपाली म्यानपावर कम्पनीको प्रचारप्रसार गरिरहेका छन्।

म्यानपावर कम्पनीले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको डिमाण्ड प्रमाणीकरणमा ढिलासुस्ती गर्दै आएका छन्। उनीहरूले नेपालमा रहेका केही म्यानपावर कम्पनी र मलेसियामै रहेका व्यवसायीसँग मिलेर उक्त अवैध धन्दा चलाउँदै आएको दूतावास स्रोतको दाबी छ।

‘ढकाल र पन्थीले प्रमाणीकरणका लागी दूतावास पुगेका अन्य कम्पनी तथा एजेण्टलाई घुमाउँदै–फिराउँदै आफ्नो गिरोहसम्म पुर्‍याउँछन्, पैसा लिन्छन्, अनि मात्रै काम गरिदिन्छन्। आफू संलग्न गिरोहमार्फत नआएका फाइल उनीहरू खोल्दैनन्। सीधै दूतावास पुगेका फाइलमाथि अनेकौं बहाना बनाएर अड्काउने गरेका छन्,’ स्रोतले भन्यो।

श्रमसहचारी ढकाल र पन्थीको रबैया देखेर तल्लो तहका कर्मचारी आजित बनेका छन्। ‘फाइल बोकेर दूतावास आएका मानिसहरूलाई आफ्नो गिरोह भेट्न पठाउँछन् ढकाल–पन्थी,’ स्रोतको आक्रोश थियो ।

गिरोहमार्फत आर्थिक असुली गरेपछि मात्रै पास गर्ने गरेको दूतावासका एक अधिकारीले बताएका छन्। ‘दूतावास दलालहरूको चंगुलमा फसेको छ। मलेसियाको कुरा गरी साध्यै छैन। दूतावास श्रमसहचारी दीपक र प्रकाश सरले एउटा गिरोह खडा गरेका छन्,’ ती अधिकारीले भने।

घुमाइ–फिराइ दलालसम्म पुर्‍याएर ढकाल र पन्थीले रकम उठाउने गरेको एक व्यवसायीको गुनासो छ।

‘दूतावासभित्र श्रमसहचारी बनेर दलाल छिरेजस्तो छ। दीपक ढकाल र प्रकाश पन्थीको आंतक छ। उनीहरूको कर्तुत महामहिम ज्यूलाई पनि थाहा भइसक्यो। तर, उहाँ पनि चुप हुनुहुन्छ,’ ती व्यवसायीले भने।

दूतावासमा पुगेका फाइललाई अध्ययन गरी दुई साताभित्र अनलाइन गरिन्छ। तर, श्रमसल्लाहकार र श्रमसहचारीले पैसा दिएका फाइल भोलिपल्टै अनलाइन गर्ने गरेका छन्। त्यति मात्रै होइन उनीहरूले नेपालका केही म्यानपावरको खुलेरै मार्केटिङ गर्ने गरेका छन्।

‘इमानदार कम्पनी सबै कागज बोकेर आउनुहुन्छ। उहाँहरूलाई यो पुगेन र त्यो पुगेन भनेर होल्डमा राखिन्छ। अनि आफ्नो गिरोहमा पुगेपछि मात्र काम गराइन्छ,’ दूतावासका अर्का एक कर्मचारीले भने।

लामो समयपछि मलेसियाको रोजगारी खुलेपछि ढकाल र पन्थीलाई रकम उठाउन भ्याइनभ्याइ छ। उनीहरूले आफ्नो धन्दा कायम राख्न अनेकौं जालझेलसमेत गर्ने गरेको तथ्य बाहिरएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर