चुनावी सभामा होमिए खोटाङका राजनीतिक दल

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने प्रतिनिधि सभा र प्रदेश ससभा सदस्य निर्वाचनका लागि खोटाङका राजनीतिक दल तथा उम्मेदवार खुला चुनावी सभामा होमिएका छन्। गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेलगत्तै घरदैलो अभियानमा जुटेका राजनीतिक दल तथा उम्मेदवारले शुक्रबारदेखि औपचारिक रूपमा चुनावी सभा सुरु गरेका हुन्।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभालगायत कार्यक्रम गर्न अनुमति दिएपछि दलहरूले शीर्ष नेतृत्वलाई समेत जिल्लाका चुनावी सभामा झिकाएका छन्। आफ्नो पक्षमा माहोल बनाउन राष्ट्रियस्तरका कलाकारलाई समेत चुनावी सभामा झिकाएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनले शुक्रबार नै खोटाङबजारबाट संयुक्त चुनावी सभा गरेर प्रचार सुरु गरेको छ । गठबन्धनले आगामी कातिक २९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा चुनावी सभाको आयोजना गरिएको जनाएको छ। खोटाङबजारमा भएको कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, कांग्रेसका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री सर्वधन राई, प्रदेश प्रदेश सभा (२) का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भूपेन्द्र राईलागायतले सम्बोधन गरेका थिए।

कात्तिक १९ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा, २० गते ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्कबजार, २१ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २२ गते रावाबेँसी गाउँपालिकाको हरमटारमा गठबन्धनको चुनावी सभा हुने प्रचारप्रसार समितिका संयोजक टङ्क थापाले जानकारी दिए। यस्तै कात्तिक २३ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, २५ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २६ गते बराहपोखरी गाउँपालिकाको धर्तुङ, २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजार र कात्तिक २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित हेलिप्याडमा संयुक्त चुनावीस भा हुने गठबन्धनले जनाएको छ।

गठबन्धनबाट प्रदेश सभा (१) मा नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई उम्मेदवार रहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छन् । गठबन्धनविरुद्ध प्रदेश सभा (१)मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पनि आफ्नो चुनावी कार्यक्रम गरिरहेका छन्। गठबन्धनको सिट बाँडफाँट र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

नेकपा (एमाले)ले शनिबार ऐँसेलुखर्कमा चुनावी सभा गरेर खुला प्रचार सुरु गरेको छ। एमालेका अनुसार कात्तिक २० गते रावाबेँसी गाउँपालिकाको हरमटारमा, २३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजार, २५ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चरदोबाटो, २६ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा चुनावी सभा गर्ने तयारी गरिएको प्रचारप्रसार समितिले जनाएको छ। यस्तै कात्तिक २७ गते दिक्तेलबजार, २८ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी, २९ गते हलेसी, ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी र मङ्सिर १ गते वराहपोखरी गाउँपालिकाको धर्तुङमा चुनावी सभा गर्ने कार्यतालिका तय गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए।

एमालेबाट प्रतिनिधि सभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेश सभा (१) मा प्रदेश समिति सदस्य एवं संविधान सभा सदस्य पाँचकर्ण राई ‘पीके’ र प्रदेश सभा (२) मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रिएका छन्।
एमालेले केन्द्रमा जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरे पनि जिल्लामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।

एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा जसपाले पनि चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । जसपाबाट प्रतिनिधि सभामा डा. कृष्णकुमार राई ‘केके’, प्रदेश सभा (१) मा राकेश राई र प्रदेश सभा (२) मा प्रेमकुमार राई चुनावी मैदानमा छन्।

प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी, नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई छन्। उम्मेदवारी कायम रहेका नेता आ–आफ्नो पक्षमा माहोल बनाउन चुनावी कार्यक्रम लिएर जिल्ला दौडाहमा लागेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा (१) मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेश सभा (२) मा छ जना चुनावी मैदानमा उत्रिएका छन्। यद्यपि एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *