समूह विजेता बन्दै पुलिस प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

समूह चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लव समूह विजेताको रुपमा काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको मधेसका लागि मोहम्मद आदिल अलामले सर्वाधिक ४२ रनको पारी खेल्दा रत्न रोनाकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान पुलिसका बलर सामु खुलेर खेल्न सकेनन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५ विकेट निकाल्दा करण केसीले ३ तथा रासिद खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४९.१ ओभर सबै विकेट गुमाएर २ सय ७३ बनाएको थियो । पुलिसका लागि तीन खेलाडीले अर्धशतकीय पारी खेले । आरिफ शेखले ८६ बलको सामना गर्दै ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७३ रन जोड्दा ९६ बल खेलेका अमित श्रेष्ठले ९ चौकाको सहयोगमा ६५ रनको पारी खेले । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रन जोड्दा दिलीप नाथले ४० रनको व्यक्तिगत स्कोर जोडे । यस्तै अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ मधेस प्रदेशका राजेश यादव र रुपेश सिंहले समान ३/३ विकेट हात पार्दा मोहम्मद आदिल आलमले दुई तथा विशाल पटेल र हरिशंकर शाहले १÷१ विकेट आफ्नो नाममा लेखाए ।

यससँगै पुलिसले सबै चारमा स्पष्ट जित निकाल्दै समूह तालिकामा ८ अंक जोड्न सफल भयो । पुलिस समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । यस्तै पराजित मधेस पनि सेमिफाइनलमा पुगेको छ । मधेसले ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बनेको हो ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै मूलपानीमा भएको अर्को खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशमाथि पनि फराकिलो जित निकाल्यो । आर्मीले कर्णालीलाई १ सय ४० रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ सबै विकेट गुमाएर मात्र १ सय १४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४८ रनको व्यक्तिगत योगफल बनाउँदा अर्जुन घर्तीले १७, प्रकाश जैशी र सन्दीप शाहीले समान ११र११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन नसक्दा पराजित भएको हो । कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका रोहित पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा शहाब अलाम र हरि चौहानले समान २/२ तथा जितेन्द्र मुखिया र सुशान भारीले १/१ विकेट आफ्नो नाममा खेलाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरै ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । आर्मीका विनोद भण्डारीले अविजित ३७ रनको पारी खेल्दा राजेश पुलामीले २८ रनको व्यक्तिगत स्कोर बनाउँदै साथ दिए । यस्तै कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रनको व्यक्तिगत स्कोर जोड्दा हरि चौहान ३१, भीम सार्कीले २९, ओपनर अर्जुन साउदले २० तथा अनिल मण्डलले १७ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । दीपेन्द्र रावतले २ विकेट लिँदा दिनेश अधिकारीले १ विकेट हात पारे ।

प्रतियोगितामा बुधबाबाट सेमिफाइनलका खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर