वाञ्छित हस्तक्षेपबाट पत्रकारितालाई जोगाउन सरोकारवालाहरूको जोड

सरोकारवालाहरुले प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा प्रेस काउन्सिलले आयोजना गरेको निर्वाचनसम्बन्धी मिडिया अनुगमनको छलफलमा बोल्दै वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहीतका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् ।

उनीहरुले पत्रकारिता क्षेत्रमा लामो समय काम गरी नाम कमाएका पत्रकारहरुको सहयोग लिएर काउन्सिल र महासंघले पत्रकारिताको स्वतन्त्रताको आवाजलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

पत्रकारिता क्षेत्रबाट नाम कमाएका पत्रकारहरुको अनुभवलाई सम्पत्तिको रुपमा जोगाउँदै आगामी दिनमा सम्बन्धित पक्षहरुले पत्रकारिताको स्वतन्त्रतामाथि भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्ने बताए । उनीहरुले प्रेस काउन्सिल नेपाल विशुद्ध व्यवसायिक संस्था हुनुपर्ने र पत्रकारितालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेपबाट जोगाउने कुरामा बलियो बन्नुपर्ने धारणा राखे ।

उनीहरुले निर्वाचन आयोगले प्रेस काउन्सिलमाथि अराजकता देखाएको आरोप लगाए । पत्रकारहरुले निर्वाचन आयोगले आफ्नो अंगको रुपमा प्रेस काउन्सिललाई प्रयोग गर्न खोजेको पनि बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रेस स्वतन्त्रताको हनन हुने प्रावधान भए प्रेस काउन्सिलले असहमत छाैं भन्ने हैसियत राख्न सक्नुपर्ने बताए । उनले निर्वाचन आयोगले आफ्नो अंगको रुपमा प्रेस काउन्सिललाई प्रयोग गर्न खोजेको स्पष्ट देखिएको बताए । उनले प्रेस काउन्सिलको स्वायत्ततामाथि सधैँ प्रश्न उठ्ने गरेको भन्दै दल विशेष शक्तिबाट स्वतन्त्र पत्रकारितको हकहीतमा काम गर्छु भन्नुले स्पष्टता र स्वतन्त्रता नदिने स्पष्ट पारे ।

त्यस्तै वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिताको नाममा राजनीति गर्ने खेल बन्द गर्नुपर्ने बताए । उनले निर्वाचन आयोगको अधिनमा पत्रकार नबस्ने भएकाले अन्तरक्रिया निर्वाचन आयोगको आचारसंहितामा के गर्ने भनेर राख्नु नै गलत भएको बताए । उनले प्रेस काउन्सिल जस्तो न्यायिक अंगलाई प्रशासनिक अंग बनाउन नहुने बताए । वरिष्ठ पत्रकार नेपालले पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारी राजनीतिमा नभइ नीति, नियम र आचारमा बस्न सुझाव दिए । उनले प्रेस काउन्सिलबाट राजनीतिक दलका नेताहरुको राजनीति भइरहेको दाबी गरे ।

त्यस्तै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले काउन्सिलको निर्वाचन आयोगमाथिको हस्तक्षेप कम भएको अनुभूति गरेको बताए । उनले प्रेस काउन्सिलले हतारमा बिना होमवर्क पुर्जी काट्ने काम बन्द गर्न सुझाव दिए ।

त्यस्तै वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले कन्टेनलाई हेरेर प्रेस काउन्सिल निर्मम बन्नुपर्ने बताए । उनले पत्रकार आचारसंहिताअनुसार काम गर्न नसके प्रेस काउन्सिल कमजोर बन्ने भन्दै उनले प्रेस काउन्सिलले सञ्चारकर्मीहरुको संरक्षित बन्ने नभइ आचारसंहीताले व्यवस्था गरेअनुसार अघि बढ्नुपर्ने बताए ।

त्यस्तै वरिष्ठ पत्रकार तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलको आचारसंहिता सिद्धान्तभन्दा बाहिर गइसकेको आरोप लगाए । उनले संसारको प्रजातान्त्रिक देशहरुमा निर्वाचनका बेला प्रेसलाई कसैको पक्ष, विपक्षमा वकालत गर्न दिने गरेको तर नेपालमा भने निर्वाचनको मुखमा कसैलाई केही नभन्नू भन्ने कुराबाट नागरिक सचेत र सतर्क हुन नसक्ने बताए । उनले जनता सुसूचित हुने भनेको सञ्चारमाध्यमबाट नै भएकाले सञ्चारमाध्यमलाई रोकेर लोकतन्त्रको सुदृढीकरण हुन नसक्ने जिकिर गरे ।

त्यस्तै वरिष्ठ पत्रकार महेन्द्र विष्टले अहिलेको काउन्सिललाई संस्थागत हिसावमा र कानूनी हिसाबमा प्रिन्सिपलमा पुनः संरचना गर्नुपर्ने धारणा राखे । उनले निर्वाचन आयोग प्रेसप्रति अनुदार ढंगले प्रस्तुत भइरहेको बताए । उनले निर्वाचन आयोगमाथि प्रश्न गर्न नपाउने निकाय प्रेस हुन नसक्ने भन्दै कुनै पनि व्यक्तिको सम्पूर्ण जीवनको बारेमा विश्लेषण गर्न पाउने समय भनेको नै निर्वाचन रहेको बताए ।

त्यस्तै वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले सबै संस्थाहरुप्रति उदासीनता हुने क्रम बढिरहेको भन्दै प्रेस काउन्सिल जागरुक हुन जरुरी रहेको बताए । उनले काउन्सिलले कसैको पक्ष, विपक्षमा लागेर काम गर्नु नहुने बताए । उनले निर्वाचन आयोगले यस पटकको निर्वाचनमा आफ्नो सीमारेखा र कार्यक्षेत्र बिर्सिएको बताए । उनले निर्वाचन आयोगले स्वच्छन्दातालाई पार गर्दा अहिले आफ्नै खिल्ली उडिरहेको बताए । उनले प्रेस काउन्सिल कुनै राजनीतिक दलहरुबाट प्रभावित नभई व्यावसायिक बन्नुपर्ने सुझाव दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस काउन्सिल र महासंघले निर्वाचन आचारसंहितामा निर्वाचनका बेलामा थप बुँदाहरु समेटेर आफ्नै अंगका रुपमा बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय निर्वाचन आयोगको प्रेसप्रतिको अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित बनाएको बताए । उनले चुनावको बेलामा उम्मेदवारको चर्चा नगरे कहिले गर्ने भन्दै निर्वाचन आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्नु नहुने बताए । अध्यक्ष पोखरेलले गत ५ वर्षमा सांसदहरु प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणमा सहयोग नगरेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर