प्राविधिक प्रस्ताव अस्वीकार भएको चिनियाँ कम्पनीलाई फास्ट ट्र्याकको छैटौं प्याकेजको ठेक्का

नेपाली सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैटाैं प्याकेजको ठेक्का दिएको छ।

प्याकेज ६ का लागि ग्लोबल टेन्डर आह्वान हुँदा सुरुमा सेनाले छनोट गरेका कम्पनीमा नरहेको चाइना फस्ट हाइवे कम्पनीले सोही प्याकेज निर्माणको ठेक्का पाएको छ।

प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले प्रस्ताव पेस गरेका थिए। सेनाले १६ भदौमा प्राविधिक प्रस्तावमा पास भएका पाँचवटा कम्पनीलाई भदौ ३१ गते वित्तीय प्रस्ताव खुला गर्ने भन्दै सहभागिताका लागि चिठी लेख्यो।

तर, एक दिनअघि ३० भदौमा सेनाले सबै कम्पनीहरूलाई चिठी लेखेर भने पनि उक्त प्रस्ताव खुला गर्ने मिति पछि सर्‍याे। प्राविधिक प्रस्ताव अस्वीकृत भएको चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो। उसैलाई पछि सेनाले प्याकेज ६ को जिम्मा दिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा उक्त कम्पनीले पुनरावेदन दिएपछि कार्यालयले उसलाई पनि टेन्डर प्रक्रियामा सामेल गराउन निर्देशन सेनालाई पठायो।

सेनाले कात्तिक २० गते साँझ ५ बजे वित्तीय प्रस्ताव खोल्ने चिठी पठायो। भोलिपल्ट १ बजे सेनाले बाँकी कम्पनीहरूलाई पठाएको इमेलमा त्यही चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छनोट भएको सूचित गरियो, जसले पुनरावेदन दिएको थियो। उसलाई लेटर अफ इन्टेन्ट (एलओआई) शुक्रबार दिएको छ।

उक्त चिनियाँ कम्पनीले वित्तीय प्रस्ताव १८ अर्ब ७ करोड ८६ लाख रुपियाँ पेस गरेको थियो । भारतको आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडले १९ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ प्रस्तावित गरेको थियो।

चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी लिमिटेड, चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीले २० अर्ब ४६ करोड ८६ लाख रुपैयाँ प्रस्तावित गरेको थियो।

सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पावर चाइना चेङ्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २२ अर्ब १६ करोड ८४ लाख रुपैयाँ, चाइना स्टेट कन्सट्रक्टिङ्न इन्जिनियरिङ कम्पनीले २७ अर्ब ५८ करोड १ लाख तथा पोलिचाङ्दा इन्जिनियरिङ कम्पनीले ४२ अर्ब ८ करोड १४ लाख रुपैयाँ वित्तीय प्रस्ताव गरेका थिए।

टेन्डरकै बीचमा काठमाडौं फास्ट ट्«याक आयोजना प्रमुख विकास पोखरेलको सरुवा भयो। उनको ठाउँमा प्राविधिक सहायक रथी कमलविक्रम शाहले जिम्मेवारी पाएका छन्। शाहले नै हस्ताक्षर गरेर चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीलाई एलओआई दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर