यौनिक तथा अल्पसंख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुनेमा सरोकारवालाको जोड

सरोकारवालाहरूले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुने बताएका छन्।

उनीहरूले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन्।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूको पक्षका बुँदाहरू विभिन्न तरिकाबाट समेट्ने गरे पनि कार्यान्वयन गर्ने बेलामा हात कमाउने गरेको बताइन्। उनले राज्यबाट दिइने सेवा सुविधामा पनि यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूलाई समान अवसर दिनुपर्ने बताइन्।

उनले कानून (ड्राफ्ट) बनाउँदा व्यक्ति–व्यक्तिबीच विवाह गर्ने कुरा उल्लेख गरेर पठाए पनि कानून पास गर्दा भने महिला र पुरुषबीच मात्रै विवाह गर्ने उल्लेख हुँदा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूलाई विवाह गर्ने, घर बसाउने र परिवार बनाउने अधिकारबाट नै कानूनले वञ्चित गरेको बताइन्।

अधिवक्ता बस्यालले नेपालको वर्तमान कानूनले ती वर्गलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेकाले आगामी दिनमा कानून निर्माण गर्दा समानताको आधारमा बनाइनुपर्ने बताइन्। यौनिक तथा अल्पसंख्यक व्यक्तिको विवाहको अधिकारलाई सुनिश्चित गर्न सर्वोच्च अदालतले विगतमा गरिसकेको सिद्धान्त प्रतिपादनको आधारमा कानून बन्नुपर्ने आवश्यकता औंल्याइन्। उनले चुनावको बेला र राजनीतिक दलका नेतृत्वहरूको भाषणमा यौनिक तथा अल्पसंख्यकका विवाहका कुरा समेट्ने गरे पनि चुनाव जितेर कार्यान्वयन गर्ने तहमा पुग्दा चासो नदिने गरेको बताइन्। उनले कानून निर्माण गर्दा सबै पक्षलाई समान रूपमा हेर्नुपर्ने उल्लेख भएअनुसार कानून निर्माण गर्ने व्यक्तिहरूले नै कार्यान्वयन गर्न हिच्किचाएको बताइन्।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ अल्पसंख्यक व्यक्तिको उम्मेदवारी एउटा मात्रै परेको छ। अल्पसंख्यकमा नेपाल जनता पार्टीबाट सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा महेन्द्र साह तेलीले उम्मेदवारी दिएका छन्।

त्यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत हाल्ने यौनिक तथा अल्पसंख्यक व्यक्तिहरूको संख्या १८५ रहेको छ। यस पटकको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना कुल मतदाता रहेका छन्। जसमा ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुष मतदाता रहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर