पर्दाफास विश्लेषण

जी २० : विश्वको अबको गन्तव्य कता ?

विश्वका ठूला अर्थव्यवस्था भएका राष्ट्रहरुको जी २० सम्मेलन इन्डोनेसियाको बालीमा मंगलबारदेखि सुरु भएको छ । अमेरिका, चीन, बेलायत लगायत देशका प्रमुखहरु सम्मिलित यो सम्मेलनमा विश्वका ठूला नेताहरुको साइडलाइन वार्ता पनि भइरहेको छ ।

केही वर्षयता कोभिड र रुस–युक्रेन युद्धको समस्यासँग जुधिरहेको विश्वको अबको गन्तव्य कस्तो र कतातिर होला भन्ने तय गर्न यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ । यस्तै, रुस–युक्रेन युद्ध अन्त्य गर्न र बिग्रँदो विश्व अर्थतन्त्रलाई सही दिशामा ल्याउन सम्मेलन सफल होला कि नहोला ? यो पनि चासो विषय बनेको छ ।

सन् २००८ र ९ मा भएको जी २० सम्मेलनमा विश्वभर आर्थिक मन्दीको समस्या समाधान गर्न प्रमुख नेताहरुबीच सहमति भएको थियो । त्यसयता, शक्तिराष्ट्रबीचको असमझदारीका कारण यो सम्मेलन कम प्रभावकारी रहेको आरोप लाग्दै आएको छ । यद्यपि, सन् २०१९ को सम्मेलनमा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ एउटा ठूलो व्यापार विवाद सुल्झाउनेबारे सहमत भएका थिए ।

तनावपूर्ण अवस्थामा सम्मेलन
यस पटकको सम्मलेन विवाद र चुनौतीबीच भइरहेको छ । युक्रेनमा रुसको आक्रमणपछि विश्वभर सुरक्षा चिन्ता बढ्दो छ भने अर्थतन्त्र बिग्रँदो छ । यो युद्धले महँगी बढिरहेको छ । खासगरी तेल र खाद्य पदार्थको मूल्य अकासिँदो छ ।

यस्तो अवस्थामा अमेरिका र पश्चिमा देशहरु रुसमाथि दबाब बढाउँदै युद्ध समाप्त गर्न प्रयास गर्न सक्छन् । सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमर पुटिन सहभागी छैनन् । उनको स्थानमा विदेशमन्त्री सर्गेई लावरोफ सहभागी छन् ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले भिडियो मार्फत सम्मेलनार्य सम्बोधन गरेका छन् । यसले रुसलाई चिढ्याउन सक्छ । हालसम्म अमेरिका र बेलायतले युक्रेनलाई साथ दिइरहेका छन् । चीनले भित्रभित्रै रुसलाई सहयोग गर्दै आएको छ । तर, भारत हालसम्म कुनै देशको पक्षमा पनि खुलेको छैन ।

के छन् एजेण्डा ?
सम्मेलनको मुख्य एजेण्डा रुस–युक्रेन युद्ध नै हो । यसबाहेक खाद्य सुरक्षा, जलवायु परिवर्तन, उत्तर कोरियाको बढ्दो परमाणु कार्यक्रम र विश्वभर चीनको बढ्दो प्रभाव पनि एजेण्डामा छन् । यस्तै, कोभिडको असर, विश्वभर स्वास्थ्य उपाय र स्थायी ऊर्जाबाट आर्थिक सुधारका विषयमा पनि सम्मेलन केन्द्रित हुनेछ ।

क–कसले के भने ?
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले चीनसँग अब कुनै शीतयुद्ध नहुने बताएका छन् । सोमबार भएको दुई देशका उच्च अधिकारीको भेटमा बाइडेनले चीनले ताइवानमाथि आक्रमण गर्नेबारे आफूले विश्वास नगर्ने जनाए ।

बैठकमा उत्तर कोरिया र रुस–युक्रेन युद्धबारे पनि चर्चा भएको थियो । दुवैले युक्रेनमा परमाणु हतियार प्रयोगको विरोध गर्ने जनाए । चिनियाँ राष्ट्रपति सीले शान्तिका लागि पुटिनसँग आग्रह गर्ने जनाए ।

अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ।

सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुसबाट युक्रेनमाथि आक्रमणको विरोध गरेका छन् । पुटिनले देशभित्रको असन्तोषलाई दबाएको र हिंसाको माध्यमबाट युक्रेनमाथिको आक्रमणलाई वैधता दिन खोजेको उनको भनाइ थियो । यस युद्धको विश्वभरबाट विरोध भइरहे पनि रुसले सुन्न नचाहेको सुनकले बताए ।

खाद्य र ऊर्जा सुरक्षा सत्रमा भाग लिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा युद्धविराम र कूटनीतिक पहल फिर्ता गर्ने तरिका खोज्नुपर्ने बताए । ‘दोस्रो विश्वयुद्धले विश्वमा विनाश गरेको थियो । त्यस बेला नेताहरुले जसरी शान्ति स्थापना गर्न प्रयास गरेका थिए, मलाई लाग्छ हामीले पनि त्यही बाटो अपनाउन जरुरी छ,’ उनले भने ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक र भारतका प्रधानमन्त्री नरेन्द्र माेदी।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको युद्ध अन्त्य हुनुपर्ने बताए । उनले अन्त्य हुँदै गरेको खाद्य निर्याताको सम्झौता विस्तारका लागि पनि अनुरोध गरे । उनले बारम्बार रुसलाई छाडेर जी १९ को रुपमा सम्बोधन गरेका थिए ।

विश्वको भविष्य अब कता ?
कोभिड र रुस–युक्रेन युद्धले थिलथिलो भएको विश्वको अर्थतन्त्रले अब कुन बाटो समात्ला ? यसको उत्तर यही जी २० सम्मेलनले लिने निर्णयमा भर पर्छ । रुस–युक्रेन युद्ध सकिएको छैन भने उत्तर कोरियाले पनि जापान, दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

यिनै कारणहरुले पश्चिमा देश लगायत विश्वभर मूल्यवृद्धि, खाद्य असुरक्षा र सुरक्षा चिन्ता बढ्दो छ । अमेरिका, चीन लगायत विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरु यी समस्याहरुमा विपरीत ध्रुवमा छ । अझ चीनले ताइवानमा अमेरिकाले विवाद बढाउन खोजेको आरोप लगाउँदै आएको छ । यस्तो अवस्थामा विश्वका प्रमुख नेताहरुले अब लिने निर्णयले विश्वको भविष्य सुध्रिने वा अझै बिग्रने भन्ने तय गर्नेछ ।

युरोपेली संघ, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युके र अमेरिका जी २० का सदस्य हुन् । ती देशहरुको आर्थिक उत्पादनको हिस्सा ८५ प्रतिशत छ भने विश्व व्यापारमा ७५ प्रतिशत हिस्सा छ । यी देशहरुको जनसंख्या जोड्दा विश्वको जनसंख्याको दुई तिहाइ हिस्सा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर