रुस–युक्रेन युद्ध अन्त्य गर्नुपर्ने निर्णयसहित सकियो जी २० सम्मेलन

रुस–युक्रेन युद्ध चाँडै अन्त्य गर्नुपर्ने निर्णयसहित विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जी २० को सम्मेलन सकिएको छ । इन्डोनेसियाको बालीमा मंगलबारदेखि सुरु भएको दुई दिने सम्मेलनले युद्धका कारण विश्वको अर्थतन्त्र संकटमा परेको ठहर गरेको हो ।

सम्मेलनले ५ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । सम्मेलनमा सहभागी देशका नेताहरुले युद्धको लागि रुसलाई जिम्मेवार ठहराएका थिए भने यही कारणले विश्वमा खाद्य संकट, सुरक्षा चिन्ता बढेको जनाएका थिए । विश्व अर्थतन्त्र नै समस्यामा परेको भन्दै उनीहरुले फेरि एकपटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने बताएका थिए ।

घोषणापत्रमा परमाणु मिसाइलको प्रयोगमा रोक र अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारको पालनामा पनि जोड दिइएको छ । अहिलेको युगको युद्धको नभएकाले खाद्य सुरक्षा, स्थायी ऊर्जा र जलवायुपरिवर्तनको असरबारे सोच्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

बुधबार सम्मेलन सकिएसँगै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आधिकारिक रुपमा जी २० को अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुम्पिएका छन् । समापन समारोहमा प्रधानमन्त्री मोदीले भारतको जी २० अध्यक्षता समावेशी, महत्वाकांक्षी, निर्णायक र कारबाहीमा केन्द्रित हुने बताए । उनले जी २० को एजेन्डामा महिलाको नेतृत्व विकासका लागि प्राथमिकता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *