चिनियाँ ‘नाकाबन्दी’ले सुस्तायो जाडोका कपडाको व्यापार

जाडो बढे पनि बजारमा न्यानो कपडाहरूको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन्।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीहरूले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्।

उनीहरूले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको बताए। उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरू मर्कामा परेको गुनासो गरे।

व्यापारीहरूले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्नेगरी मूल्य वृद्धि भएको बताएका छन्। काठमाडौं न्यूरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष सुरुआती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए।

उनले न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरू चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताए। उनले चीन जानका लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अर्डर गर्दा सामान अर्कै आउने गरेको बताए।

उनले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए। उनले सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरू ठूलो मर्कामा पर्ने गरेको बताए।

उनले नेपाल सरकारले साना व्यापारीहरूलाई पनि गरिखाने वातावरण सहज बनाउनका लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने बताए। उनले बैंकहरूमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरू पीडित रहेको बताए।

व्यापारीहरूले ग्राहकहरूले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन्। उनीहरूले सामानहरूको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *