आईजीपी सिंहको निर्देशन- ‘निर्वाचन प्रहरीको परीक्षाको घडी हो, अब्बल सावित हुनेगरी काम गर्नू’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मंसिर ४ गते हुने आमनिर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको भन्दै संगठनलाई अब्बल सावित गर्नेगरी कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन्।

प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई साे निर्देशन दिएका हुन्।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने उनले बताएका छन्।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताए। सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूले व्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा उनले जोड दिए।

महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूलाई आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारीसम्बन्धी आवश्यक बिफ्रिङ गर्न ले निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकाले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्यसम्पादन गर्न निर्देशन दिए।

निर्वाचनको मौन अवधिमा निर्वाचन बिथोल्ने क्रियाकलाप अझ बढी हुनसक्ने भएको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू सतर्क र संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गरे। हरेक काम औचित्य पुष्टि हुनेगरी हुनुपर्ने र कर्तव्यनिष्ठाको क्रममा गरिएका कामकारबाहीप्रति संगठनको सदैव साथ रहने उनले बताए।

सहयोगीका रूपमा रहेका म्यादी प्रहरीको उच्च प्रयोग गर्दै निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्त बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अति संवेदनशील क्षेत्रहरूमा आवश्यक सुरक्षा योजना, रणनीति तय गरी काम गर्न निर्देशन दिए।

त्यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले निर्वाचन महापर्व भएकाले निष्पक्ष र विवेकसम्मत रूपमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिएका थिए।

उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरूको भौतिक र प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *