आमनिर्वाचन-२०७९

बिना बर्दीमा गौंडा-गौंडामा बसेका छौं, आचारसंहिता छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।

शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहीता उल्लंघन हुनसक्ने बताए। उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए।

उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए। निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए।

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहीतामा कडाइ गरिरहेको बताए। उनले आयोगले आचारसंहिता कडाइबारे विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए।

निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण गराए। उनले आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको बताए। आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दाबी गरे।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे। उनले आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए।

निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको बताए। उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए।

उनले आयोगको कडाइका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहिताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महसुस गरेको बताए। निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्नु नुहने बताए।

निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताए। उनले आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भएपनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको बताए।

उनले निर्वाचन आयोगले मतदाता शिक्षालाई कमजोरी र कमी हुन नदिने प्रतिवद्धता जनाए। निर्वाचन आयुक्त भण्डारीले शैक्षिक स्तरको पाठ्यक्रममा नै राखेर मतदाता शिक्षाको विकास र जनतालाई सुसुचित बनाउन जरुरी रहेको बताए। उनले विकसित मुलुकमा पनि मतपत्र बदर हुने गरेको भन्दै मतदाता सचेत भएर मतदान गरेको खण्डमा मतपत्र बदर हुनसक्ने कुराालई कमी गर्न सकिने बताए।

निर्वाचन आयुक्त भण्डारीले मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि भने नयाँ कानूनको निर्माण गर्न अपरिहार्य रहेको बताए। उनले मतदाता शिक्षा प्रभावकारी बनाउने कुरामा निर्वाचन आयोगले लोभ नगरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर