रवि लामिछानेको समाचारलाई लिएर सम्पादक ढुंगानालाई गालीगलौज गर्नु निन्दनीय : महासंघ

नेपाल पत्रकार महांसघ एसोसिएट प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई गालीगरौज गर्ने कार्य भइरहेको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको छ।

उकेरा डटकम नामक अनलाइनमा लामिछाने कुनै समय अमेरिकी नागरिक रहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि पुनः प्रक्रिया पूरा गरेर नेपाली नागरिकता लिनुपर्ने कानूनी व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरेको समाचार प्रकाशन भएको थियो।

उक्त समाचारको विषयलाई लिएर उकेरा डटकमका सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट गालीगलौज गर्ने, अश्लील शब्दहरू प्रयोग गरी अनेकन् लाञ्छनाहरू लगाउने लगायतका क्रियाकलाप भइरहेको भन्दै समितिले आपत्ति जनाएको हो।

लामिछानेविरुद्ध नागरिकताको विषयमा निर्वाचन आयोगमा उजुरी परेको छ।

‘कुनै एक व्यक्ति वा कुनै राजनीतिक दलको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वयंले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन जुन प्रक्रिया पूरा गर्नुपर्ने हो त्यो नगरेको र पुरानै नागरिकताका आधारमा आफूले काम गरिरहेको स्वीकार गरिसक्नु भएको छ,’ समितिका महासचिव रोयल आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा परेको उजुरी निर्वाचन आयोगमा विचाराधीन अवस्थामा नै छ। असल राजनीतिक संस्कार बनाउँछु भनेर देश परिवर्तनको उद्देश्य बोकेको पार्टीका शुभेच्छुक र समर्थकहरूबाट यस्तो कार्य हुनु झनै गलत हो।’

लामिछाने स्वयंले आफ्नो कमजोरी स्वीकार गरिसकेको अवस्थामा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी पत्रकारमाथि गरिएको दुर्व्यवहार तत्काल रोक्नुपर्ने पनि महासङ्घको एसोसिएट समितिले जनाएको छ। साथै समाचार चित्त नबुझे वा समाचारप्रति गुनासो रहे त्यसको निरुपणको लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समूह नै सक्रिय भएर सञ्चारमाध्यम र पत्रकारको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासङ्घ एसोसिएट प्रदेश समितिले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर