कांग्रेस र माओवादीले भने- ‘कांग्रेसले माओवादीलाई भोट नदिन सर्कुलर गरेको छैन’

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कांग्रेसले माओवादीलाई भोट नदिन सर्कुलर गरेको विषयमा समाचार सत्य नभएको जनाएका छन्

शनिबार दुवै पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिवले संयुक्त वक्तव्य जारी गर्दै कांग्रेसले माओवादीलाई भोट नदिन सर्कुलर गरेको विषयका समाचार भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध भनेका छन्।

केही अनलाइनमा प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसले सर्कुलर जारी गरेको भन्ने समाचार प्रकाशित भएका थिए।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद कोइराला र माओवादी मुख्यसचिव श्रीराम ढकालले जारी गरेको वक्ततव्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच फाटो गराउने दुराशयले झुटा सूचना फैलाइएको दाबी गरिएको छ।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठवन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ। यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

वक्तव्यमा थप भनिएको छ,‘ यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो । यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कार्वाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउछौं । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *