विदेशी पर्यवेक्षकहरूले गरे निर्वाचन पर्यवेक्षण

विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए । जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलील निर्वाचन पर्यवेक्षण गरेको हो ।

नेपालभित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए । भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डलले नेपालको निर्वाचनको पर्यवेक्षण गरेको थियो । त्यस्तै बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भुटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारीले नेपालका निर्वाचनको पर्यवेक्षण गरेका हुन् ।

श्रीलंकाबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ–बोसहितको टोलीले नेपालको निर्वाचन पर्यवेक्षण गरेको छ । निर्वाचन आयोग ऐनको दफा ६ ले कुनै स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न दिन सकिने व्यवस्था गरेको छ । पर्यवेक्षणमा खटिने व्यक्ति तथा संस्थाले निर्वाचनको वैधता, स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता लगायतका विषयमा पर्यवेक्षण गरेका थिए । पर्यवेक्षक संस्था र व्यक्तिका लागि छुट्टै आचारसंहिता तोकिएको थियो ।

निर्वाचन आचारसंहिता-२०७९ को परिच्छेद ६ मा पर्यवेक्षण गर्ने संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण समेटिएको छ । पर्यवेक्षण अनुमति पाएका संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीन दिनभित्रमा त्यसको प्रतिवेदन निर्वाचन आयोगसमक्ष बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ । त्यस्ता संस्थाले निर्वाचनका क्रममा गरेको आयव्ययको विवरण पनि तीस दिनभित्रमा आयोगलाई बुझाइसक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर