आमनिर्वाचन-२०७९ विश्लेषण

निर्वाचनका ३ संकेत : जुन बन्दै छ पुराना पार्टीलाई खतराको घन्टी

आइतबार छिटफुट घटनाबाहेक देशैभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो । तर, विगतमा जस्तो निर्वाचनमा मतदाताको सहभागिता भने उत्साहपूर्ण हुन सकेन । प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो निर्वाचनको तुलनामा यो करिब ७ प्रतिशत कम हो ।

२०७४ को निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत र २०७० को संविधानसभा निर्वाचनमा ७८ दशमलव ३४ प्रतिशत मतदान भएको थियो । यो तथ्यांकले मतदानप्रति जनतामा विस्तारै आकर्षण घट्दै गएको स्पष्ट हुन्छ । आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका हुन् ।

यसपटक मतदान गर्नेमा युवाको संख्या धेरै थियो । कुल मतदातामध्ये ४० वर्षमुनिका झन्डै आधा मतदाता रहेको आयोगले जनाएको थियो । यो त्यही जमात हो, जसले निर्वाचनको परिणाममा नै फरक पार्ने अनुमान गरिएको थियो । तर, कम मतदान हुनुले युवा समूह नै निर्वाचनप्रति निराश रहेको देखाएको छ ।

केन्द्र र प्रदेशसभाको निर्वाचनमा मात्र नभई स्थानीय तहको निर्वाचनमा पनि कम मतदान भएको थियो । गत वैशाखमा भएको स्थानीय तहको ननिर्वाचनमा ७० दशमलव ९६ प्रतिशत मतदान भएको थियो । त्यतिबेला १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदातामध्ये १ करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो ।

यसपटक प्रदेशसभातर्फ प्रदेश १ मा ५७ प्रतिशत, मधेसमा ६५, वाग्मतीमा ६१ दशमलव ५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३ र सुदूरपश्चिम ५९ दशमलव ७७ प्रतिशतत मतदान भएको आयोगको प्रारम्भिक तथ्यांक छ । आयोगको प्रारम्भिक विवरणअनुसार राजधानी काठमाडौंमा ५५ प्रतिशतले मात्रै मतदान गरेका छन् भने ललितपुरमा ६५ र भक्तपुरमा ७० प्रतिशत मत खसेको छ ।

अहिले मुलुकभर नै मतगणना प्रारम्भ भएको छ । प्रारम्भिक नजिताहरु आउने क्रममा छन् । सार्वजनिक भएका तथ्यांकलाई हेर्दा नयाँ पार्टीप्रति मतदाताको झुकाव देखिएको छ । नयाँ पार्टीले अन्तिमसम्म कति मत पाउलान् ? कति सिट जित्लान् वा कुनै पनि नजित्लान्, आफ्नो ठाउँमा छ । तर, नयाँ संविधान जारीयताको यो दोस्रो निर्वाचन र मतदाताको नयाँ पार्टीप्रतिको झुकावले ३ वटा संकेत केही प्रश्न जन्माएको छ ।

मतदान गर्दै रास्वपा सभापति रवि लामिछाने।

पहिलो आफ्नो जनप्रतिनिधि छान्ने र मुलुकको पाँच वर्षको भविष्य निर्धारण गर्ने निर्वाचनप्रति कित मतदाता आकर्षित भएनन् ? दोस्रो, यो निर्वाचनमा नयाँ पार्टीको चर्चा, माहोल र उदयले पुराना पार्टीहरु कांग्रेस, एमालेलाई के सन्देश दिएको छ ? तेस्रो, नयाँ पार्टीले आगमनले नेपालको राजनीतिले आगामी दिनमा कस्तो दिशा लेला ?

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पुरानै नेताहरु उम्मेदवार भएका कारण मतदानप्रति जनतामा उत्साह नदेखिएको बताउँछन् । उनले रास्वपाप्रति जनताको ‘सेमिलहर’ देखिनुलाई पनि पुराना नेताहरुप्रतिको वितृष्णाको रुपमा अर्थ्याए ।

माओवादी र एकीकृत समाजवादीले लिएका कम्तीमा २५ वटा सीटमा कांग्रेसको उम्मेदवारको भए एमालेसँग कडा टक्कर हुने उनको भनाइ छ । माओवादी र नेकपा एसले बढी भाग खोज्दा यसको फाइदा एमालेलाई पुगेको र गठबन्धनबाट एमालेलाई खासै असर नपुग्ने देखिएको उनले बताए ।

अन्य विश्लेषकहरु पनि पुरानै नेता, मतदानमा लामो लाइन बस्नुपर्ने र पुरानै तरिका, विद्युतीय मतदानको व्यवस्था नहुनु जस्ता कारणले युवाहरु मतदान गर्न नआएको बताउँछन् । हुन पनि नजिकिँदो निर्वाचनले न कर्णाली तथा सुदूरपश्चिमबाट ठूलो संख्यामा युवाहरु रोजगारीका लागि भारत जाने चलनलाई रोक्न सकेको थियो, न त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि जाने युवाहरुलाई नै । वर्षौंदेखि पुरानै दल, पुरानै नेता र राजनीतिक खिचातानीले देशमा सम्भावना नदेखेको र निर्वाचनले पनि आफूहरुलाई विदेशिन नरोकेको उनीहरुको भनाइ थियो । यो पुरानो पार्टीको असफलता र नयाँ पार्टीप्रति आकर्षण बढाउने खतराको घन्टी मान्न सकिन्छ ।

अर्कोतर्फ निर्वाचनमा जति मत खसेको छ, त्यसमा नयाँ पार्टीप्रति आकर्षण बढेको देखाएको छ । स्थानीय तहमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले पाएको सहानुभूति यस निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने अनुमान गरिएको छ । ३ महिनाअघि पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको रास्वपाप्रति जनताको आकर्षण पुराना दल तथा नेतालाई सच्चिनका लागि संकेत भएको विश्लेषकहरुको भनाइ छ । उक्त पार्टीले पाउने सिटले पनि आगामी दिनको राजनीतिक भविष्य कुन दिशातर्फ जाला भन्ने स्पष्ट हुने देखिन्छ ।

लामिछानेले पनि अब आफूहरुलाई संसदमा उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर