प्रकाशमान सिंह जसले लौहपुरुष पिताको विरासत कायम राखे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै चौथो पटक झिनो मत अन्तरले जिते । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गरे । सिंहले सात हजार एक सय ४० मत ल्याए भने मिश्रले सात हजार ११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार एक सय १८ मत प्राप्त गरेका थिए ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए ।

विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे। सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर