अल थानी: जसले बनाए कतार विश्वकपलाई सम्भव

कतारमा विश्वकप २०२२ को उद्घाटन हुँदै गर्दा सबैको नजरमा थिए, त्यहाँका शासक शेख तमिम बिन हमाद अल थानी । नहोस् पनि किन, कतारले जसरी फिफाबाट विश्वकप आयोजना गर्ने अनुमति पाएको थियो, त्यतिबेला देखि नै यो देश आलोचनाको केन्द्रमा थियो ।

त्यसयता, कतारले विश्वकप आयोजना गर्न नसक्ने विभिन्न कारण देखाउँदै विशेषगरी पश्चिमा मुलुकहरुबाट निरन्तर विरोध भइराखेको थियो । तर, आइतबार विश्वकपको भव्य उद्घाटन गर्दै कतारले सबै विरोधीलाई चुप लगाइदिएको छ र यसको सफलताको श्रेय जान्छ, अल थानीलाई ।

२०१३ मा आफ्ना बुबा हमाद बिन खलिफा अल थानीबाट राज्यको बागडोर पाएका उनी त्यसअघि नै कतारमा स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएका थिए । आफ्नो अनुभव र चुनौतीलाई एकसाथ लिएर अघि बढेका उनी विश्वकप आयोजनामा सफल भएका छन् । यो सफलताको झलक विश्वकप उद्घाटनको अवसरमा उनले दिएको मन्तव्यमा पनि झल्किन्थ्यो ।

कतारका प्रमुख अल थानीले विश्वकपले सबै राष्ट्रियता र विश्वासका व्यक्तिलाई जोडेको बताए । कतार विश्वकप सुरुवातको क्रममा उनले कतार तथा अरब राष्ट्रका तर्फबाट विश्वका सबैलाइ विश्वकप फुटबल २०२२ मा स्वागत गर्न चाहेको बताए ।

‘विश्वकप फुटबल प्रतियोगिता सफल बनाउंन हामीसँगै धेरैले धेरै नै मेहेनत गरेका छन् । हामीले मानवताको रक्षार्थ सकेको सबै उपाय लगाएका छौं,’ उनले भने । उनले यो प्रतियोगिता मानवीयता र सञ्चारको अनुपम नमुना हुने पनि विश्वास व्यक्त गरे ।

‘विश्वका कुनाकाप्चा, विभिन्न जातजाति, धर्म, वेषभूषा, रहन–सहन र फरक विचारमा मानिसहरू जसरी कतारमा भेला भएर यो रोचक प्रतियोगिताको आनन्द लिनुहुनेछ, त्यसैगरी विश्वका सबै ठाउँमा घरघरमा टेलिभिजन सेट अगाडि तिनै रोचक पललाई अनुभूत गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

विश्वकप अलग अलग जाति, भाषा र संस्कृति भएका व्यक्तिलाई जोड्ने प्रतियोगिता भएको बताउँदै उनले सबै प्रतिस्पर्धी टिमलाइ आकर्षक प्रदर्शन, उच्च मनोबल तथा उत्साहका साथ खेल प्रदर्शनको लागि शुभकामना दिए ।

विश्व फुटबलको सर्वोच्च प्रतियोगिता ९२ वर्षको इतिहासमा पहिलोपल्ट खाडी क्षेत्रमा आयोजना गरिएको हो । हालसम्मकै सबैभन्दा बढी २ खर्ब २० अर्ब अमेरिकी डलर लगानी गरिएको यो विश्वकपका खेल सञ्चालन हुने आठ रंगशालामध्ये सातवटा नयाँ निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *