कतार विश्वकप: अरब र मुस्लिम समुदायको सपना

कतारको राजधानी दोहाको भीडभाड बजार ‘सौक वाकिफ’को सौन्दर्य प्रस्टै महसुस गर्न सकिन्छ । यो बजारमा हिँड्दा विभिन्न भाषामा विभिन्न किसिमका आवाजहरु कानमा पुग्छन् । फुटबल प्रेमीहरुले आफ्नो मनपर्ने टिमको झण्डा फहराएको देख्न सकिन्छ ।

कहिलेकाहीँ कुनै कुनाबाट फुटबल फ्यानहरूको समूहले अचानक आफ्नो टोलीको लागि हर्षोल्लास गर्न थाल्छ र तपाईं स्तब्ध हुनुहुन्छ । मेक्सिको, मोरक्को र अर्जेन्टिनाका अनुहारहरू फरक–फरक रंगमा देख्न सकिन्छ । खाने टेबलमा बसेका मानिसहरूको आँखा तिनीहरूमाथि अड्किएको छ र तिनीहरू आफ्नो खानाको आनन्द लिइरहेका छन् ।

यस बजारको एक कुनामा एक कलाकार लियोनल मेस्सीको तस्बिर कोर्दै छन् । कतारको जर्सी लगाएका साना केटाकेटीहरू पनि आफैंमा खुसी छन् । यही बजारमा नासिरसँग भेट भयो । उनले आफ्नो थर भनेनन् । नासिरले भने, ‘विश्वभरका मानिसहरू यहाँ आएका छन् । यो हामी कतारीहरूका लागि गर्वको दिन हो ।’

यहाँको क्याफेमा ठूला स्क्रिनहरू जडान गरिएको छ र सबैको नजर त्यतै गएको छ किनभने त्यसबेला उद्घाटन समारोह सुरु हुन लागेको थियो । नाजी रशेद अल नाइमी नामका एक व्यक्तिले भने, ‘म कस्तो महसुस गर्छु भनेर म ठ्याक्कै वर्णन गर्न सक्दिनँ । सारा संसारले मेरो सानो देशलाई हेरिरहेको छ ।’

अल नाइमी सौक वाकिफमा रहेको कतार दामा क्लबका प्रमुख हुन् । दामा कतारको एक स्थानीय खेल हो, जसमा चेस जस्ता ६४ वटा वर्ग हुन्छन् र खेलाडीहरूले सेतो र कालो टुक्राहरू खेल्छन् । नाजी आफ्ना साथीहरूसँग भन्दै थिए, ‘यहाँसम्म पुग्नका लागि हामीले धेरै कठिनाइ र चुनौतीको सामना गरेका छौं ।

अल नाइमी र उनका साथीहरू यस उद्घाटन समारोहको बारेमा धेरै उत्साहित थिए, यो उनीहरूको लागि ठूलो दिन थियो । उनले यो मरुभूमि देश कसरी पुराना दिनहरू छोडेर विश्वकप आयोजना गर्ने चरणमा पुगेको बताए ।

उद्घाटन समारोहमा अमिर तमिम बिन हमाद अल थानी र उनका पिता देशका पूर्व अमिर हमाद बिन खलिफा अल थानीको आगमनमा मानिसहरू उत्साहले भरिएका थिए । त्यसपछि टिभीमा पुरानो भिडियो देखाइएको थियो, जसमा पूर्व अमिर हमाद बिन खलिफा अल थानी आफ्नो युवावस्थामा मरुभूमिमा फुटबल खेलिरहेको देखिन्छ ।

कतारमा भइरहेको फिफा विश्वकप अहिलेसम्म विवादको छायाँमा परेको छ । प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अगाडि स्टेडियमहरूमा बियर बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो । कतारमा एलजीबीटी समुदायका फ्यानहरूलाई कस्तो व्यवहार गरिनेछ भन्नेमा पनि शंका उठाइएको छ । कतारमा कडा शरिया कानून छ र समलैंगिकता अपराध हो । देशमा आप्रवासी कामदारको अवस्थालाई लिएर पनि लामो समयदेखि बहस भइरहेको छ र कतारले विश्वभरबाट आलोचना खेप्नुपरेको छ ।

तर ‘सौक वाकिफ’ मा बसेका कतारी जनतामाझ यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा विवादास्पद प्रतियोगिता हो भनेर अनुमान लगाउन सक्नुहुने छैन । सलेम हसन अल मोहनादीले भने, ‘यो सपना थियो, जुन तिमीले आफ्नो अगाडि वास्तविकतामा परिणत भएको देख्दैछौं । मलाई यसमा धेरै गर्व छ । हाम्रो आलोचना गर्नेहरूलाई पनि हामीले केही भनेनौं । आज हामीले उनीहरूलाई गरेर देखाएका छौं ।’

साद अल बद्रको नजर कतार–इक्वेडरको खेलमा परेको थियो । उनले टिभीको स्क्रिनबाट आँखा नहटाएर भने, ‘यी आलोचनाहरूले मलाई दुःखी तुल्याउँथ्यो । विगत १२ वर्षदेखि हामी चिन्तित थियौं । हामीलाई थाहा थिएन कि यो वास्तविकतामा परिणत हुन्छ कि हुँदैन । र अब यो यथार्थमा परिणत भएको छ ।’

यो सबै खाडीको सानो तर धनी देश कतारका लागि त्यति सहज भएको छैन । उसले अझै धेरै प्रमाणित गर्न बाँकी छ । एक महिनासम्म कतारले आफ्नो सांस्कृतिक, धार्मिक र परम्परागत पहिचान र विश्वका अपेक्षाबीच सन्तुलन कायम गर्नुपर्नेछ । यो कतारका लागि मात्रै होइन, सम्पूर्ण खाडी क्षेत्रका लागि ठूलो दिन हो । विश्वको यो क्षेत्रमा पहिलो पटक फिफा विश्वकप आयोजना हुँदै छ ।

जसरी सलेम हसन अल मोहनादीले भनेका छन्, ‘यो विश्वकप कतारका लागि मात्र होइन सम्पूर्ण अरब विश्व र मुस्लिमहरूका लागि महत्वपूर्ण छ ।’

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *