कर प्रणाली सुधार गर्नुपर्नेमा निजी क्षेत्रको जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्नको लागि कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन्। उनले अहिले कर प्रणालीमा धेरै समस्याहरु रहेकाले कर प्रशासकीय प्रणालीमा समेत पुनरवलोकन गर्न आवश्यक औंल्याए।

अध्यक्ष गोल्छाले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए। उनले कर तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्ने भन्दै निजी क्षेत्र र सरकारबीच सहकार्य नभए कठिन परिस्थिति आउने बताए।

अध्यक्ष गोल्छाले राजस्व संकलनमा कमी आएकाले बजारमा तरलता अभाव भएको बताए। उनले तरलता अभावले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पुगेको गुनासो गरे।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले राजस्व संकलनमा निजी क्षेत्रको कारण कमी नभएको बताए। उनले मुलुकभर उद्योग, व्यापार व्यवसायमा आएको कमीका कारण राजस्वमा कमी भएको बताए।

अध्यक्ष अग्रवालले उद्योग व्यवसायको मागमा करिब २५ देखि ३० प्रतिशत ह्रास आएको बताए। उनले सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले मागमा कमी आएको बताए। उनले उद्योग, व्यापार व्यवसायको मागमा आएको कमीले पुससम्ममा राजस्वमा अझै कमी आउने बताए। उनले सरकारले तरलता अभावलाई सहज बनाउन र ब्याजदर वृद्धि नियन्त्रण गर्न आवश्यक रहेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खुला नाकाबाट हुने चोरी निकासीलाई व्यवस्थित गरी करको दायरामा ल्याउनुपर्ने बताए। उनले कर प्रणालीलाई सरकारले डिजिटल बनाउन आवश्यक रहेको बताए। उनले सरकारले तीनवटै तहका सरकारलाई मान्य हुने कर राजस्व खाता व्यवस्थित गरे मात्रै राजस्वमा वृद्धि हुने बताए।

आर्थिक वर्ष २०७७/०७८ मा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ। यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयबहादुर शाह रहेका छन्। आयकरतर्फ नेपाल दूरसञ्चार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ। सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको हो। निर्यात विशेषतर्फ शिवशक्ति घ्यु र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एण्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन्।

बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्। आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर