सल्यानमा विद्यालय भवन बनाउँदा ८७ लाख भ्रष्टाचार, वडाध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा

विद्यालय भवन बनाउँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको एक विद्यालयका प्रधानाध्यापक तथा वडाध्यक्षलगायत ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको शारदा नगरपालिका–२, लुहापिंगस्थित त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आह्वान नगरी र कानूनी प्रक्रिया नपुर्‍याई उनीहरुले ८७ लाख रुपैयाँ अनियमितता गरेको आयोगको आरोप छ । आयोगले वडाध्यक्ष केशव सिंह श्रेष्ठ, प्रधानाध्यापक माधव विक्रम जिसी, पालिकाका इन्जिनियर तुफान जि जंग केसी, सब इन्जिनियर सरस्वती थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा र तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य रिमलाल भण्डारीविरुद्ध भ्रष्टाचार दायर गरेको छ ।

विद्यालयको बहुतल्ले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको अख्तियारको भनाइ छ ।

त्यसक्रममा ८७ लाख रुपैयाँ बढी मूल्यांकन गराई सरकारलाई हानिनोक्सानी पुर्‍याएको आयोगको ठहर छ । आयोगले भ्रष्टाचारजन्य कसुरमा संलग्न कर्मचारी एवं पदाधिकारीलाई उक्त रकमबराबरको बिगो मागदाबी र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर