‘मनी एण्ड टेक्नोलोजी’ निर्वाचनको प्रमुख चुनौतीः भोजराज पोखरेल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गरेका छन् ।

राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण यो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरु बढन गएको, खेतीको सिजनका कारण पनि निर्वाचनमा कम मत खसेको समेत स्पष्ट पारे ।

उनले भने, ‘एउटा धेरै मतदाता बाहिर छ । दोस्रो, खेतीको सिजन छ । तेस्रो, हिजो, अस्तीका राजनीतिक दलहरुको कामकाज, व्यवहारले विरक्तिएर जान्न भन्नेहरु पनि भएहोलान् । कतिपयलाई गठबन्धन भयो । आफ्नो दलको उम्मेदवार छैनन् । मेरो एउटा चिन्हमा भोट लिईराखेको अर्को चिन्हमा दिन जान्न भन्ने पनि भयो होला । यी लगायतका कारणहरु खास गरेर दलहरुले मतदाताहरुलाई मोटिभेटेड गर्न नसकेको परिणति कम मत खस्नु रहेको म भन्दछु ।’

पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा यो निर्वाचनले मुख्य चुनौतिको रुपमा औंल्याएको पनि बताए । निर्वाचनमा परिपक्वता आएपनि पैसा र डिजिटल प्रविधिको दूरपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरुले पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौति र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताए । उनले भने, ‘हामीहरु डेमोक्रेसीको एउटा मेच्युर फेजको आइपुगेको देखिन्छ । त्यसले गर्दाखेरी हामीले सन्तोष लिनुपर्ने अवस्था पनि छ । सुरक्षा चुनौतिका कुरा, मतदाता शिक्षाका कुराहरुमा कमी छ । दुई वटा कुराहरु हाम्रोमा चुनौतिको रुपमा आएको छ । पैसा र डिजिटल प्लेटफर्मको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौति आएको छ । हाम्रो अगाडि निर्वाचनको लागि यही चुनौति छ । पर्यवेक्षकहरुलाई पनि मेरो आग्रह छ–अव भने तपाईहरुले पनि त्यसमा फोकस गर्नु पर्छ ।’

निर्वाचनमा केही छिटफुट घटना भएपनि मतदान प्रक्रियाको विश्वसनियता र स्वच्छन्दतामा प्रतिकूल असर हुने कुनै पनि गतिविधि नभएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोक र जियोकको पनि प्रारम्भिक टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर