काठमाडौंमा नगद र सुनका गहना चोरी डकैती गर्ने १५ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो।

कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ बसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

उनीहरुलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेका उनले बताए। पक्राउ पर्नेहरुमा जुम्लाका २० वर्षीय विशाल शाही, कालीकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय कालिकोटका धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन्।

त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही रहेका छन् भने रामेछापका २४ वर्षीय सुर्वण मगर रहेको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले बताए। उनीहरुको साथबाट तौल ३८.५ तोला लेखिएको सुनको गिलास १ थान, सुनको तिलहरी १ थान, सुनको नौगेडी २ थान, हिरा जस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले बताए।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको जनाइएको छ।

त्यस्तै गरी काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरुलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षिय देविराज राई रहेका छन्। त्यस्तै धादिङका ३० वर्षिय कुमार विश्वकर्मा, ४० वर्र्षीय बेगबहादुर बि.क. र ३८ वर्षीया मनिला तामाङ रहेका प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट वारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउण्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोशाक, फेनारगन, डाइजेपाम र नुरफिन गरी जम्मा ५९१ एम्पुल लागुऔषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले बताए।

उनीहरुलाई पनि चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

One thought on “काठमाडौंमा नगद र सुनका गहना चोरी डकैती गर्ने १५ जना पक्राउ

  1. येस्ता डाँकाहरु को तस्बिर देखाउनु जरुरि छ.जनता हरु ले आआफ्नो ईलाका मा लुकी बसेका तमाम अपराधि हरु लाई चिन्नु र जान्नु उनीहरु को नैसर्गिक अधिकार हो. भोलि इनै मध्य एउटा अपराधि बाट धनमाल लुटने क्रम मा हत्या हुन गयो भने को जिम्मेबार हुने? समय मै सोचेर सम्पूर्ण अपराधि हरु लाई टि भी मा देखाउन सुरुवात होश!!
    जय मात्री भुमि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर