आमनिर्वाचन-२०७९

पश्चिम नवलपरासी १ बाट कांग्रेसका विनोद चौधरी विजयी, यस्तो छ ‘प्रत्यक्ष’ संसद् यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन्।

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे।

विसं २०१२ वैशाख १ गते जन्मेका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुन्। करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन्। चौधरी २०६४ सालको संविधान सभा निर्वाचनअघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गरेका थिए। दल प्रवेश गरेसँगै उनी संविधान सभा सदस्य बनेका थिए। नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकांक्षी रहे पनि उनले चुनाव लडेनन्।

विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने। यो अवधिमा उनले सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे। गत वर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए।

‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढेका छन्। चुनावी प्रचारप्रसारका क्रममा उनले पटकपटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिएका थिए। त्यस्तै नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रूपान्तरणको खाँचो रहेको र त्यसको खाका आफूले बनाउने पनि उनले बताउँदै आएका छन्।

संविधान सभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ। उनीसन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए।

त्यस्तै सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहेका थिए। सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रूपमा चौधरीले काम गरेका थिए।

व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन्। विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’मा पर्ने चौधरी एकमात्र नेपाली नागरिक हुन्। फोब्र्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन्।

विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहेका छन्। सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्राण्ड रहेका छन्। खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ।

उद्योग व्यवसाय र राजनीतिको सम्मिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन्। परोपकारी कार्यका लागि चौधरी फाउण्डेशन सञ्चालनमा छ। ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एशियन म्यान अफ द इयर’बाट सम्मानित गरेको थियो। उनी शाश्वत धाम नवलपरासीका संस्थापक पनि हुन्।

चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन्। उनका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन्। चौधरी गल्फ र स्क्वास खेलका सौखिन छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर