समानुपातिक निर्वाचन प्रक्रिया : ‘थ्रेसहोल्ड’को सीमा काट्न नसकेका दलहरू प्रक्रियाबाटै बाहिरिने

प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुनेतर्फको सम्पूर्ण परिणाम आइनसक्दै समानुपातिकतर्फको निर्वाचनमा निर्वाचित हुनेको चर्चा शुरु भएको छ ।

सामान्य रुपमा बुझ्दा पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरु विजयी हुन्छन् । नेपालको निर्वाचित प्रणाली मिश्रित निर्वाचित प्रणाली हो, संघीय संसद् र प्रदेश सभा (संसद्) दुवैमा लागू गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीबारे बुझ्न सहज भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रक्रिया अलि जटिल रहेको छ । नेपालले समानुपातिक निर्वाचन प्रणाली विश्वका धेरै देशमा लागू भएको ‘सेन्ट लग’ विधिलाई प्रयोग गरेर पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको संख्या निकाल्छ । यसरी प्राप्त संख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचीकृत गरेका उम्मेदवार प्राथमिकताअनुसार निर्वाचित हुनेछन् ।

समानुपातिकतर्फको निर्वाचनमा निर्वाचित सिट जित्ने दल छनोट प्रक्रिया
समानुपातिकतर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित हुने उम्मेदवारले प्रभाव परेको हुन्छ । त्यसैले समानुपातिकतर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत् निर्वाचित हुनेको मतपरिणामसहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइन्छ ।

अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरुले भाग लिएका छन् । ३ प्रतिशतको अंकलाई थ्रेसहोल्ड अंक निकालेपछि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरुले समानुपातिकतर्फको निर्वाचनमा पाएको मत र थ्रेसहोल्डको अंकसँग तुलना गरिन्छ । यस्तो तुलनामा थ्रेसहोल्डको सीमा पार गरेका दलहरु र सीमा काट्न नसकेका दलहरु विभाजन गरिन्छ । थ्रेसहोल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिकतर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिकतर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

समानुपातिकतर्फको निर्वाचनमा निर्वाचित सिट निकाल्ने प्रक्रिया
संघीय संसद्को प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ । थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मतअनुसार निर्वाचित सिट निकलिन्छ । यसपछि समानुपातिकतर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ । यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिकतर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेसहोल्ड काटेका) दलले पाएको मतलाइ भाज्य मान्दै भाग गर्छ । १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ ।

दलले प्राप्त गरेको सबै मतपरिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरु मध्य जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोस्रो ठूलो भागफल गर्दै क्रमशः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ ती सबै निर्वाचित सिट हुन् । यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ । जसको भागफल हो त्यसअनुसार दलले जितेको सिट मान्दै जोडिन्छ अनि दलको कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ । स्वभावतः दलले प्राप्त गरेको मतपरिणामअनुसार सिट निर्वाचित हुन्छन् । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन् ।

विजयी सिटमा क्लस्टर विभाजन प्रक्रिया
समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टरभित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन् । यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ । तर, संविधानमा भएको व्यवस्था अनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेशी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको सूची बुझाएको हुनुपर्छ । यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरेका हुन्छन् । अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशत अनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारु १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन् । यो ११ जनामध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । तर, क्लस्टरमा निर्वाचित हुनेको संख्या नघटाई त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसदको संख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ ।

समानुपातिक निर्वाचनको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो कति सिट जित्यो, राष्ट्रिय सभामा कति जना सांसदहरु हुनुहुन्छ ? तीमध्ये कति महिला छन् ? भन्ने हिसाब गरेर संविधानको व्यवस्थाअनुसार संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । यसका लागि निर्वाचन आयोगले सबै शर्त राखेर क्लस्टरअनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्दछ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपतिक प्रणालीमा निर्वाचित व्यक्तिहरुको सूचि प्रकाशित गर्दछ । यसरी संघीय संसद्को प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन् ।

समानुपातिकतर्फको निर्वाचन प्रक्रिया संघीय संसद् र प्रदेश सभा
मूलभूत रुपमा संघीय संसद् र प्रदेश सभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो । संघीय संसद् २ सदनात्मक हुने भएकाले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो । यद्यपि समानुपातिकतर्फको थ्रेसहोल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेस होल्ड १.५ %) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ । तुलनात्मक रुपमा हेर्दा प्रतिनिधि सभा भन्दा प्रदेश सभा अझ बढी समावेसी देखिन्छ ।

साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेश अनुसार फरकफरक छ । उदाहरणको लागि प्रदेश १ मा समानुपतिक निर्वाचनमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७.५ % छ भने मधेश प्रदेशमा ५४.३६ % छ । यस्तै बागमती प्रदेशमा मुस्लिम ०.६७ % निर्वाचित हुने व्यवस्था छ तर मधेस प्रदेशमा ११.५८% छ । यो भनेको समानुपातिक समूहमा रहेको जनसंख्याको उपस्थिति फरक भएकाले प्रदेश अनुसार निर्वाचित संख्या घटी, बढी भएको हो । प्रदेश सभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसंख्यक समूह पनि छ, यो समूह प्रतिनिधि सभामा छैन ।

-केन्द्रीय तथ्यांक विभागबाट निर्वाचन आयोगको समानुपातिक इकाइमा रहेका उपसचिव देवेन्द्रलाल कारञ्जितसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर