विवादमा लुम्बिनीका डीआईजी, छानबिनको तयारी गर्दै प्रहरी मुख्यालय

लुम्बिनीको प्रहरी प्रमुखमा सरुवा भएसँगै विवादमा पर्दै आएका डीआईजी नलप्रसाद उपाध्यायले रकम उठौतीमा मात्र ध्यान दिएको भन्दै मातहतका जिल्ला प्रमुख एसपीहरुले प्रहरी प्रधान कार्यालयमा गुनासो गरेका छन् ।

उपाध्यायले घुुमवालाई रकम उठाउन प्रयोग गरेको भन्दै एसपीहरुले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले पनि छानबिन सुरु गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो ।

डीआईजी उपाध्याय गत स्थानीय तहको निर्वाचनअघि २१ वैशाखमा लुम्बिनीमा सरुवा भएका थिए । त्यसअघिका डीआईजी मुकुन्दप्रसाद आचार्य विवादमा परेपछि उनी एक वर्षे कार्यकाल नै पूरा नगरी प्रहरी मुख्यालय तानिएका थिए । तर, सरुवा भएर गएका डीआईजी उपाध्यायले पनि नाकाबाट रकम उठाउन र अन्य विवादास्पद काम गर्न थालेपछि प्रहरी कर्मचारीले नै गुनासो गरेका हुन् ।

लुम्बिनीमा भैरहवा, कृष्णनगर, नेपालगन्ज जस्ता प्रमुख नाकाहरु भएका सहर छन् भने परासीलगायतका साना र रणनीतिक हिसाबले संवेदनशील नाका पनि छन् । तर, यी नाकाबाट चोरी निकासी रोक्ने, प्रदेशकै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा डीआईजी उपाध्यायले आफ्नो स्वार्थअनुकूल काम गर्न थालेको उच्च स्रोतले जानकारी दिएको छ ।
उनी पहिले पूर्वी नवलपरासीको प्रहरी प्रमुख पनि भएका थिए ।

हाल उनले प्रहरी सहायक निरीक्षक पुरन केवट, प्रहरी सहायक हवल्दार प्रमोद यादव, प्रहरी हवल्दार तेजबहादुर कुँवर तथा कपिलवस्तु, रुपन्देही र नवलपरासीका टोलीहरुलाई घुमुवाको रुपमा खटाएका छन् । उल्लेखित प्रहरी कर्मचारीहरु पनि विगतमा विभिन्नमा विवादमा पर्दै आएका थिए ।

स्रोतका अनुसार उपाध्यायको निकटतम रहेर सहकार्य गर्नेमा गृहमन्त्री बालकृष्ण खाँणकै भाइ रामकृष्ण खाण पनि छन् । उपाध्यायले खाणसँगै मिलेर विगतमा विवादमा रहेका घुमुवाहरुको प्रयोग गरी रकम उठाउँदै आएको स्रोतको भनाइ छ । यसबारेमा प्रहरी मुख्यालले आन्तरिक छानबिन तयारी गरे पनि औपचारिक जानकारी भने दिइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर