
सशस्त्र प्रहरी जवान ७ हजार घुससहित अख्तियारकाे नियन्त्रणमा


सशस्त्र प्रहरी बल, नेपालका जवान मुख्तार देवान घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ७ हजार रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो। नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत जवान मुख्तारलाई प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो।
उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सो घुस रकमसहित पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया