आमनिर्वाचन-२०७९

प्रदेशमा आएन कसैको बहुमत, मिलिजुली सरकार बन्ने

हालसम्म सार्वजनिक निर्वाचन परिणामअनुसार प्रदेशमा पनि मिलिजुली सरकार बन्ने भएको छ । सातवटै प्रदेशमा दलहरुले जितेको प्रत्यक्ष सिट र पाएको समानुपातिक मतअनुसार कुनै पनि दलले बहुमत नपाउने देखिएको हो ।

यसअघिको प्रदेशसभाको चुनावमा वामगठबन्धनले बहुमत पाउँदै मधेसबाहेक प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो । एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरी कर्णाली र सुदूरपश्चिममा माओवादीको नेतृत्वमा सरकार गठन भएको थियो । मधेसमा जसपा र बाँकी प्रदेशमा एमाले नेतृत्वको सरकार थियो ।

तर, तत्कालीन नेकपा विभाजित भएपछि भने प्रदेश सरकारमा कांग्रेस, एकीकृत समाजवादी लगायत दलले पनि नेतृत्व गर्ने मौका पाए । सोही सत्ता गठबन्धनले यसपटक केन्द्र र प्रदेशमा मिलेर चुनाव लडे पनि संघमा बहुमत नल्याउने भएको छ । तर, प्रदेशमा भने सत्ता गठबन्धन मिलेमा सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । केन्द्रमा हुने गठबन्धनले प्रदेशलाई प्रभावित पार्ने भएकाले प्रदेश सरकार गठनको विषय अझै स्पष्ट भने भइसकेको छैन ।

निर्वाचन आयोगका अनुसार शनिबार मध्याह्नसम्म प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ प्रदेश सभा सिटमध्ये ३७ वटाको नतिजा आएको छ । हालसम्म एमाले १८ सिट जित्दै पहिलो नम्बरमा छ भने ६ स्थानमा अग्रस्थानमा छ । कांग्रेसले ११ सिट जितेको छ भने ६ स्थानमा अगाडि छ । माओवादीले ६ सिटमा जित र ३ स्थानमा अग्रता, राप्रपाले २ सिटमा जित, नेकपा एस ३ स्थानमा अघि छ । समानुपातिकतर्फ एमालेले ३ लाख १६ हजार ६ सय ७७ मत ल्याउँदा सत्ता गठबन्धनको मत ३ लाख ९७ हजार ८ सय १४ मत छ ।

मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये एमालेले १२ स्थानमा जित र २ स्थानमा अग्रता लिएको छ । कांग्रेसले पनि १२ सिट नै जितेको छ । जसपाले ८ स्थानमा जित र १ स्थानमा अग्रता, लोसपाले ७ स्थानमा जित र १ स्थानमा अग्रता, जनमत पार्टीले ६ स्थानमा जित, माओवादी ४ स्थानमा विजयी, एस ४ स्थानमा जित, स्वतन्त्र ६ जनाले जित हासिल गरेका छन् । समानुपातिकतर्फ एमाले–जसपा गठबन्धनले २ लाख १६ हजार ५ सय २४ मत ल्याउँदा सत्ता गठबन्धनले ६ लाख २८ हजार ४ सय ३२ मत ल्याएको छ ।

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ सिटमध्ये कांग्रेस १८ स्थानमा जित र ६ स्थानमा अग्रतासहित सबैभन्दा अघि छ । एमालेले ९ सिटमा जित र ४ स्थानमा अघि, माओवादी ७ मा जिट, ६ मा अगाडि, राप्रपा ५ मा जित २ मा अघि, एस ४ मा जित १ मा अघि, नेमकिपा १ मा जित, हाम्रो नेपाली पार्टी १ मा जित पाएका छन् । समानुपातिकतर्फ एमालेले ३ लाख ३४ हजार ७ सय २९ मत ल्याएको छ भने सत्ता गठबन्धनको मत ४ लाख ७७ हजार २ सय ६९ छ ।

गण्डकी प्रदेशमा पनि कांग्रेस नै अघि छ । प्रत्यक्षतर्फ ३६ सिट रहेको प्रदेश सभामा हालसम्म कांग्रेसले १४ सिटमा जित र २ स्थानमा अघि, एमालेको १२ सिट जित, माओवादीको ३ स्थानमा जित र १ स्थानमा अघि, नेसपा १ स्थानमा जित, स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । समानुपातिकतर्फ एमालेले २ लाख ९१ हजार ४ सय ४० मत ल्याउँदा सत्ता गठबन्धनले ३ लाख ९० हजार ६ सय ७ मत ल्याएको छ ।

लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म १४ स्थानमा जित र ३ स्थानमा अग्रतासहित अगाडि छ । एमालेले १२ सिट जित र ६ स्थानमा अग्रता, माओवादी ४ स्थानमा जित १ स्थानमा अघि, जसपा २ स्थानमा विजयी, नागरिक उन्मुक्ति पार्टी २ स्थानमा विजयी, लोसपा २ स्थानमा जित, जनमत पार्टी १ स्थानमा विजयी भएका छन् । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ र एमालेको ३ लाख ५४ हजार ३ सय ५६ छ ।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ सिटमध्ये ६ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ । माओवादीले ६ ठाउँमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ । एमाले २ सिटमा विजयी र २ स्थानमा अघि छ । १ स्वतन्त्र उम्मेदवारले जितेका छन् । समानुपातिकतर्फ एमालेको मत ८९ हजार २ सय १६ छ भने सत्ता गठबन्धनको १ लाख ८८ हजार १ सय ८१ छ ।

सुदुरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ३२ सिटमध्ये माओवादीले ७ स्थानमा जित हासिल गरेको छ भने १ स्थानमा अघि छ । कांग्रेस ६ स्थानमा विजयी र ४ स्थानमा अघि ७ स्थानमा जित हासिल गरेको छ भने १ स्थानमा अघि छ । कांग्रेस ६ स्थानमा विजयी र ४ स्थानमा अघि छ । नागरिक उन्मुक्ति पार्टी २ स्थानमा विजयी र ३ स्थानमा अघि छ । एमालेले हालसम्म २ सिट जितेको छ भने १ स्थानमा अघि । १ स्थानमा एसले अग्रता लिएको छ । १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । समानुपातिकतर्फ एमालेको मत २ लाख २४ हजार ८४ छ भने सत्ता गठबन्धनले ३ लाख १९ हजार १ सय ६९ मत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर