उरुम्ची आगलागीपछि चीनमा लकडाउनविरुद्ध प्रदर्शन बढ्दै

चीनको उरुम्ची सहरमा आगलागीबाट १० जनाको मृत्यु भएपछि सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । देशका विभिन्न सहरमा जारी लकडाउनको विरोध गर्दै आक्रोशित प्रदर्शनकारीले कम्युनिस्ट पार्टीलाई सत्ता छोड्न पनि आह्वान गरेका छन् ।

बिहीबार चीनको उत्तर पश्चिमी झेझियाङ प्रान्तमा एक अपार्टमेन्टमा आगलागीबाट १० जनाको मृत्यु भएको थियो । चीनको कडा लकडाउन र अपार्टमेन्टमा ब्लक गरेका कारण त्यहाँका बसिरहेका व्यक्तिहरु आगोबाट बच्न सकेनन् भन्ने प्रश्न अहिले उठिरहेको छ । यसैबीच, फायर डिपार्टमेन्टका प्रवक्ताले आगोबाट बच्न सक्षम नभएको भन्दै अपार्टमेन्टवासीलाई दोषी ठहर्‍याएपछि झन् आक्रोश बढेको हो ।

शनिबार राति सांघाईमा प्रहरीले ३०० प्रदर्शनकारीमाथि पेपर स्प्रे प्रहार गरेको थियो । ती प्रदर्शनकारी पीडितको स्मृतिमा ‘उरुम्ची २४ नोभेम्बर’ लेखिएको ब्यानर, मैनबत्ती र फूल लिएर भेला भएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रदर्शनकारीले ‘सी चिनफिङ सत्ता छोड, चीनलाई अनलक गर, पीसीआर चाहिँदैन’ जस्ता नारा लगाएका छन् ।

चीनले अहिले पनि धेरै सहरमा ठूलो संख्यामा कोभिडको परीक्षण र कडा लकडाउन जारी राखेको छ । महिनौंदेखिको कडा प्रतिबन्धबाट आजित भएपछि सर्वसाधारणले विरोध थालेका हुन् । उदाहरणका लागि ४ मिलियन जनसंख्या रहेको उरुम्चीका बासिन्दा गत अगस्टदेखि घरबाहिर निस्कन पाएका छैनन् ।

चीनले अहिले भएको प्रदर्शन दुर्लभ दृश्य हो, जहाँ सरकार र राष्ट्रपतिमाथि कुनै पनि प्रकारको सिधा आलोचना दण्डनीय हुन सक्छ । विरोधस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर