सुकुम्बासी बस्तीमा झडप : महानगर प्रहरी प्रमुखसहित १० सुरक्षाकर्मी घाइते

महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हातहतियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा नलिई आफूहरू नफर्किने चेतावनी दिएका छन्।

सो बस्तीमा अनधिकृत रूपमा बनाइएको टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताएका हुन्।

सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित करिब १० जना सुरक्षाकर्मी घाइते भएका छन्। आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानूनबमोजिम कारबाही हुने बताए।

यता स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रर्दशन गरेका छन्।

अहिले सो भीडलाई नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ। अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गत मंसिर ४ गतेभित्र अनधिकृत रूपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो। तर, सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *