आमनिर्वाचन-२०७९

स्याङ्जा २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगसमक्ष कांग्रेसको आग्रह

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन् ।

त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य शुरु गर्न आग्रह गरिएको बताए । उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको बताए ।

निर्वाचनको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए । उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए ।

स्याङ्जा २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना शुरु गर्नुपर्ने बताए । उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको बताए ।

उनले भने, ‘नियम, कानूनबमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचनहरू सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि साथीहरूले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराएर, मुचुल्का उठाएर, सहीछाप लगाएर मतपेटिकाहरू मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरू थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा कांग्रेस, एमालेलगायत सबै दलले सही गरेको अवस्था । त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँहरुमा कुनै धाँधली नभएको, कुनै पनि बुथ कब्जा नभएको र कुनैपनि अशान्ति नभएको भनेर किटानी राय समेत दिइसकेको अवस्थामा समेत यसरी निर्वाचन आयोगले आजसम्म मत गणना नगरिदिएकोमा हामीले विशेष ध्यानाकर्षण गराएका छौँ । र, मलाई लाग्छ छिट्टै आयोगले निष्पक्ष निर्णय गरेर मत गणना तर्फ नै निर्वाचन अधिकृतलाई निर्देशन दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर