यू-१९ क्रिकेट : वागमतीको लगातार चौथो जित

कर्णाली प्रदेशमाथि ७ विकेटको जित निकालेको वागमती प्रदेशले राजधानीमा जारी वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णाली प्रदेशले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ३१ रनको लक्ष्य वागमती प्रदेशले ३ विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै वागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो ।

यस्तै सुदूरपश्चिम प्रदेशले पनि चारै खेलमा सुखद् नतिजा निकालेको थियो । मध्यम लक्ष्य पछ्याएको वागमतीका लागि लुक्की कठायतले अर्धशतकीय पारी खेले । ८ चौका प्रहार गर्दा उनी ५१ रनमा अविजित रहे । यस्तै अशोक पोडेलले पनि अर्धशतकीय इनिङ खेले । ६४ बलको सामना गरेका पौडेलले ७ चौका र १ छक्का हिर्काएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १/१ लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले । उनले ९२ बल खेल्दा ९ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर मनिस थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन् । बलिङतर्फ ७.२ ओभर बलिङ गरेका सक्रिय कार्कीले २ मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक ५ विकेट निकाले । अहम्मद राजाले ३ विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोईरालाले १/१ विकेट आफ्नो नाममा लेखाए ।

यस जितसँगै वागमतीले ४ खेलबाट ८ अंक जोडेको छ । कर्णालको समान चार खेलबाट २ अंक मात्र छ । सुदूरपश्चिमसँग समान ८ अंक बनाएको वागमती तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश नम्बर १ ले १९.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । प्रदेश १ का लागि सोनी अन्सरीले ४५ र शुभन गहतराजले २४ रनको अविजित पारी खेले । ओसिलो मैदानका कारण ४५ ओभरमा घटाएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले ३१.३ ओभरमा सबै विकेट गुमाएर मात्र ७० रन जोडेको थियो । ओपनर मयन यादवले १९, दाब्लु मलिकले १२ रन जोड्नु बाहेक अन्य ब्ट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको प्रदेश १ का लागि दिपेश कंडेलले र विपिन महतोले समान ३/३ विकेट लिए भने सन्देश भट्टराईको नाममा दुई विकेट रह्यो । अश्विन महतो र आशिष मगरले १/१ विकेट हात पारे ।

यससँगै प्रदेश नम्बर १ चार खेलबाट दोस्रो जित निकाल्दै तालिकामा ४ अंक बनाएको छ भने फराकिलो नतिजा सुम्पिएको मधेस प्रदेशको यो लगातार तेस्रो हार हो ।

प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर