नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादनका लागि अमेरिका सहयोग गर्न प्रतिबद्ध : राजदूत थम्प्सन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा भेट भएको हो।

भेटमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्प्सनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

सो अवसरमा अमेरिकी राजदूत थम्प्सनले हालै नेपालमा सम्पन्न आमनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाका साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्प्सनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिए।

भेटमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *