उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणमा ‘फेल’

काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारी साधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।

आज विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारी साधन फेल भएको पाइएको छ भने १६ वटा सवारी साधन मात्रै पास भएको पाएको विभागले जनाएको छ ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराई पास भएपछि मात्रै कागजपत्रहरू फिर्ता लैजान पाउने बताए । उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिए ।

महानिर्देशक घिमिरेले आगामी दिनमा सवारी साधनहरू प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरू पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गरे ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारी साधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।

त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । यसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मत सम्भारपश्चात् पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।

तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर