काठमाडौंमा राति १२ बजेसम्म रेस्टुरेन्ट खोल्न पाइने, क्लब र डिस्को बिहान ४ बजेसम्म

काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी जिल्ला प्रशासन कार्यालयले नयाँ समयतालिका लागू गरेको छ । जसअनुसार काठमाडौंमा मध्यराति १२ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको मंगलबार बसेको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार सार्वजनिक निर्णयअनुसार मदिरा पसल राति १० बजेसम्म, रेस्टुरेन्ट राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान दुई बजेसम्म र डिस्को तथा क्लब बिहान चार बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो नियम काठमाडौंका सबै ठाउँमा लागू हुने सिडिओ उपाध्यायको भनाइ छ । समयको विषयमा विगतमा अष्पटता रहेकाले यसलाई प्रस्ट पारिएको उनी बताउँछन् ।

हाल धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेस्टुरेन्ट बन्द गराउँदै आएको छ । कतिपयले अदालतको आदेशका आधारमा राति अबेरसम्म रेस्टुरेन्ट तथा डिस्को सञ्चालन गर्दै आएका छन् । अब सबैका लागि समान नियम लागू गर्ने निर्णय भएको छ । यसअघि गृह मन्त्रालयले पर्यटकीय बजार २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, आंशिक रूपमा मात्र सो निर्णय कार्यान्वयन भएको छ । रात्रिकालीन व्यवसाय सञ्चालनको समयबारे पटक–पटक परिवर्तन हुँदै आएको छ ।

रात्रिकालीन व्यवसायका लागि नयाँ समयतालिकाप्रति प्रहरी र व्यवसायीले भने असहमति जनाएका छन् । ठमेल पर्यटन परिषद्का अधिकारीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई भेटेर केही विषयमा असहमति व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर